रौतहटको कटहरियामा बजेटबिनै भुक्तानी : जनाविरुद्ध भ्रष्टाचार मुद्दा

रौतहट मंसिर — १६

कटहरिया नगरपालिकामा बजेट स्वीकृत नभएको अवस्थामा भुक्तानी गरी सरकारी कोषमा हानि पुर्‍याएको ठहरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात कर्मचारी र एक गैरसरकारी संस्थाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारले दायर गरेको आरोपपत्रअनुसार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, सहायक लेखापाल विवेक कुमार सहनी, कर्मचारी राम नरेश प्रसाद यादव, कम्प्युटर अपरेटर उमेश कुमार दास, खरिदार कौशल किशोर चौधरीलगायत कर्मचारीलाई प्रतिवादी बनाइएको छ। त्यसैगरी काठमाडौंस्थित सरिता फाउण्डेसन र संस्थाकी निर्देशक सरिता कुमारी साहसमेत मुद्दामा प्रतिवादी छन्।

आर्थिक वर्ष २०७७/७८ मा नगरसभाबाट बजेट अनुमोदन नहुँदै सरिता फाउण्डेसनलाई ५ लाख रुपैयाँ भुक्तानी गरिएको र यस क्रममा वित्तीय अनियमितता भएको अख्तियारको दाबी छ। अनुसन्धानमा यस कृत्यका कारण नगरपालिकाको कोषमा कुल ९ लाख ९८ हजार ९२१ रुपैयाँ क्षति पुगेको प्रमाणित भएको आयोगले जनाएको छ।

अख्तियारले सबै प्रतिवादीबाट सोही बराबरको रकम विगो असुल गरी कानुनी रूपमा दण्ड–सजायको माग गर्दै मुद्दा दायर गरेको छ। अब यस प्रकरणको थप प्रक्रिया विशेष अदालतले तय गर्नेछ।

सम्बन्धित पोस्टहरुः