चर्चित साहित्यकार/शायर डा. बशीर बद्र गत २८ मे, बिहीबारका दिन बिते। उनको निधनसँगै भारतीय साहित्यले आधुनिक उर्दु गजलका अन्तिम शिखर व्यक्ति पनि गुमाएको छ। बद्रको सिर्जनाका शब्दहरू साँघुरो साहित्यिक घेरा नाघेर आममान्छेको भावनात्मक शब्दकोशमा स्थायी डेरा गर्न सफल भएका थिए।
डा. बद्र केवल चर्चित उर्दु कवि मात्रै थिएनन्। त्योभन्दा माथि उनी एक खालको सांस्कृतिक प्रवृत्ति बनिसकेका थिए। उनका रचनाका टुक्राहरू अनेक पुस्ता, वर्ग र भाषिक सीमा नाघेर चौतर्फी फैलिएका थिए। मुशायरादेखि अखबारसम्म, त्यसैगरी चलचित्रहरूदेखि राजनीतिक भाषणसम्म जताततै उनका रचनाहरू बोलेको प्रस्ट देख्न सकिन्थ्यो।
हस्तलिखित चिठीको जमानादेखि पछिल्लो समय सामाजिक सञ्जालका ‘टाइमलाइन’ सम्म उनका रचना छ्यापछ्याप्ती भेटिन्छन्। अङ्ग्रेजको दासत्वबाट भारत स्वतन्त्र भएयता थोरै कविले मात्रै आममानिसहरूमा यस्तो सघन र हार्दिक उपस्थितिको अवसर पाएका थिए।
बद्रले लेख्न थालेको समयमा साहित्यको रूप फेरिँदै थियो। बौद्धिक रूपमा या त अबोधगम्य या अत्यधिक सजावटयुक्त बन्दै जाँदै थियो। विविध तरिकाले जटिल बन्दै थियो। तर बद्रले भने त्यस्तो क्लिष्टताको बाटो रोजेनन्। उनले गजललाई त्यसको खास आधारभूत विशेषतामै फर्काए। त्यो होः भावनात्मक तात्कालिकता। उनले आममान्छेले ठम्याउन सक्ने भाषामा लेखे। आममान्छेले आफ्नो चाहना फेला पार्ने, गौरव भेट्ने, आफ्ना पीडाको अनुभव ठम्याउने एवं आफ्ना सम्झना र अस्तित्व भेट्ने भाषामा लेखे।
बद्र अयोध्यामा जन्मिएका थिए। सन् १९३५ को फेब्रुअरी १५ मा जन्मेका उनको नाम सैयद मुहम्मद बशीर राखिएको थियो।
उनको पुस्ता २०औँ शताब्दीको राजनीतिक उतारचढाव र सांस्कृतिक वैभव दुवै भोगेरे हुर्केको हो। उर्दु साहित्य त अझ भारत विभाजनको चोटले समेत प्रभावित हुन पुग्यो। यिनै परिस्थितिमा बद्र त्यस्तो लेखकका रूपमा उदाए, जसले भारतमा पनि उर्दु साहित्य फल्ने–फुल्ने क्रम नरोकिने सुनिश्चित गरेका थिए।
भारतको मिश्रित सांस्कृतिक काल्पनिकीमा उर्दु साहित्यको स्थान उत्तिकै शानदार रहेको उनले प्रमाणित नै गरिदिए।
उनले अलिगढ मुस्लिम विश्वविद्यालयमा पढेका हुन्। त्यहाँ उनले पछि गएर विद्यावारिधिसम्म गरे। उनले परिष्कृत प्राज्ञिक ज्ञानलाई उल्लेखनीय रूपमा सहज र बोधगम्य शैलीमा जोडे। धेरै शास्त्रीय कविका रचना बुझ्नका लागि फारसी बिम्बहरूको गहिरो ज्ञान चाहिन्थ्यो। साहित्यिक परम्परा बुझेको हुनुपर्थ्यो। तर बद्रले अर्कै बाटो रोजे। उनका रचना भने सोझै जीवन्त अनुभवसँग संवाद गर्थे।
उनले भत्किएका घरहरू, हराउँदै गएका सम्बन्धहरू, एक्लोपना, समुदायको चोट, सहरी सीमान्तीकरण तथा कमजोर हुँदै गएको आशाबारे कलम चलाए। लेखेका जति सबै असाधारण रूपमा सरल थिए।
उनका धेरै रचनाहरूमा सम्भवतः यो एउटा अमर शेरले उनको नैतिक प्रस्टतालाई सबैभन्दा राम्रोगरी झल्काउँछ–
लोग टूट जाते हैं एक घर बनाने में
तुम तरस नहीं खाते बस्तियाँ जलाने में
यी हरफहरू केवल काव्यमा मात्रै सीमित रहेनन्। हिंसा, घृणा र मानव जीवन विनाश गर्ने घातक गतिविधि विरुद्धको अभियोगपत्रका रूपमा चर्चित भए। पहिलो पटक वाचन भएको दशकौँपछि पनि जबजब साम्प्रदायिक तनाव वा राजनीतिक आन्दोलनहरू सडकमा उर्लिए, तबतब मानिसहरू उनको शेर भन्ने गर्थे।
बद्रको खास प्रतिभा गहन सत्यलाई सहज देखाउनुमा थियो। उनका रचनाहरू झट्ट हेर्दा संवादजस्ता देखिन्छन्। यत्तिकै सामान्य रूपमा बनाइएका जस्ता भान हुन्छन्। तर तिनिहरूको सरलताको अन्तर्यमा भने गहिरो दार्शनिक भाव र भावनात्मक बौद्धिकता भेटिन्छ।
जस्तै, उनको यो शेरमा भनिएको छ–
हर धडकते पत्थर को लोग दिल समझते हैं
उम्रें बीत जाती हैं दिल को दिल बनाने में
त्यसैगरी शायरीको अर्को टुक्रामा उनले असहमति र सहअस्तित्वको नैतिकतामा कसी लगाएका छन्–
दुश्मनी जम कर करो लेकिन ये गुंजाइश रहे
जब कभी हम दोस्त हो जाएँ तो शर्मिंदा न हों
बद्रका यस्ता मुलायम काव्यको पछाडि उनको जीवनमा गहिरो व्यक्तिगत पीडा लुकेको छ। २०औँ शताब्दीको अन्त्यतिर उत्तर भारतमा चलेको साम्प्रदायिक हिंसाका दौरान मिरतमा रहेको उनको घर एवं पुस्तकालयमा आगो लगाएर ध्वस्त बनाइयो। लामो समयदेखि जम्मा गरेका पुस्तक, पाण्डुलिपि तथा वर्षौंदेखि सँगालिएका सम्झनाहरू सबै एकै रातमा खरानी भए।
साम्प्रदायिक हिंसाका कारण व्यहोर्नुपरेको क्षति तथा विस्थापनले उनका रचनालाई बिस्तारै नयाँ स्वरूप दिँदै गए। पछिल्ला कृतिहरूमा हामी निर्वासन, जीवनको नाजुकता तथा सम्झनाका अनेक तरेलीहरू दोहोरिएको पाउँछौँ।
व्यक्तिगत जीवनमा भोग्नुपरेका तमाम दुःख र विस्थापनको पीडाका बाबजुद उनले आफ्नो लेखाइमा कहिल्यै तिक्तता हाबी हुन दिएनन्। बरु उल्टै निर्दयी समयलाई आत्मचिन्तन र करुणाभावले प्रतिक्रिया जनाइरहे।
उनका रचनाहरू प्रायःजसो तहसनहस भएको परिवेशमा पनि मानवता खोजिरहेको मान्छेका दुःख बोल्ने गर्थे–
उजाले अपनी यादों के हमारे साथ रहने दो
न जाने किस गली में जिन्दगी की शाम हो जाए
निदा फाजली, राहत इन्दौरी जस्ता प्रख्यात कविहरूझैँ बशीर बद्रले पनि स्वतन्त्रतापछिको भारतमा उर्दु साहित्यको सार्वजनिक जीवनलाई तिखार्नमै सघाए। ‘मुशायरा’ हरूमा उनले आफ्ना रचना वाचन गर्दा असाध्यै ठूलो सङ्ख्यामा दर्शक/श्रोता आकर्षित हुन्थे।
तर उनले आफ्नो रचनालाई आममान्छेमाझ पुर्याउनका लागि नाटकीयताको चोला भिर्नुपर्छ भन्ने कहिल्यै ठानेनन्। आफ्ना कवितालाई उनले भावनात्मक पहिचानको जगमा शक्ति हासिल गर्नेसम्म पुर्याए।
उनले सकेसम्म अनावश्यक एवं क्लिष्ट शब्दको प्रयोग कम गरे। बरु साझा हिन्दुस्तानी भाषिक क्षेत्रलाई उपयोग गरे। रचनामा देखिने खुलापनले उर्दु साहित्यको पहुँच झनै फराकिलो बनाइदियो।
उनका रचनाहरू असाध्यै चर्चित हुन थालेको समयमा भारतमा उर्दु, सांस्कृतिक एवं राजनीतिक रूपमा सीमान्तकृत हुँदै गएको थियो।
अनौठो कुरा त डिजिटल युगले उनका रचनाको प्रचार र प्रभावलाई झनै विस्तारित गरिदियो। आजका दिनमा अनगिन्ती मानिसहरू अनलाइनमा बशीर बद्रलाई उद्धृत गर्छन्। कतिलाई त आफूले आधुनिक भारतको सबैभन्दा ठूलो उर्दु कविको रचना वाचन वा प्रचार गर्दै छु भन्ने पनि थाहा हुँदैन।
उनको एउटा असाध्यै गजबको रचना छ, जुन आजको जस्तो मानिसलाई शक्ति र त्यससँगको निकटताको नसा लागेको समयमा झनै सान्दर्भिक भान हुन्छ। शायरीमा उनी लेख्छन्–
बडे लोगों से मिलने में हमेशा फासला रखना
जहाँ दरिया समुंदर से मिला, दरिया नहीं रहता
बद्रको साहित्यिक जीवन लामो र विशिष्ट रह्यो। त्यस अवधिमा उनले उल्लेख्य मात्रामा सम्मान पाए। साहित्य अकादेमी पुरस्कारदेखि पद्मश्रीसम्म प्राप्त गरे। उनका काव्यिक रचनाका सङ्कलनहरू ज्यादै चर्चित छन्। जसमा ‘सुब्ह की पहली किरण’, ‘आस बिसत’ र ‘उदासी’ लाई त समकालीन उर्दु साहित्यको कोसेढुङ्गा नै मानिन्छ।
उनको वास्तविक उपलब्धि र सफलतालाई पक्कै पनि कुनै पुरस्कारबाट मात्रै मापन गर्न सम्भव हुनेछैन।
बद्र ठूलो र दुर्लभ सफलता हासिल गरेका कवि हुन्। अर्थात् उनी आफूलाई आममान्छेको स्मृतिको एउटा हिस्सामा समाहित गर्न सफल भएका छन्। उनका रचनाले मान्छेहरूलाई प्रेम, बिछोड, बसाइँसराइ, बुढ्यौली, चिन्ता र मिलन सबै अवस्थामा साथ दिएका छन्। उनका रचनाहरू अनावश्यक भावुकताबेगरको आनन्द र अहङ्कारविना बुद्धि प्रदान गर्दै आममान्छेको जीवनमा बाँचेका छन्।
उनको निधनले उर्दु साहित्यलाई अपूरणीय क्षति गराएको छ। उनी यस्तो परम्पराको प्रतिनिधित्व गर्थे, जहाँ साहित्य केवल प्रस्तुत गरिन्थेन, जीवनको हिस्सा नै हुन्थ्यो। भाषाले नैतिकता, करुणा, भावनात्मक सीमा र सांस्कृतिक सभ्यता बोक्थ्यो।
आजको जस्तो बढ्दो ध्रुवीकरणको समयमा बशीर बद्रका रचनाले हामीलाई दया वा करुणा आफैँ पनि एक प्रकारको प्रतिरोध हुन सक्ने पाठ पढाइरहेका छन्।
उनको निधनपश्चात् धेरै कवि, विद्वत् वर्ग, कलाकार, राजनीतिज्ञ तथा संसारभर रहेका उनका प्रशंसकहरूले श्रद्धाञ्जली दिइरहेका छन्। यी सबै श्रद्धाका भावहरूबीच हामी उनी केवल ‘रोमान्स’ का मात्रै कवि कहिल्यै थिएनन् भन्ने सजिलै ठम्याउन सक्छौँ। उनी मान्छेको नाजुकताबारे लेख्ने कुशल शब्दशिल्पी थिए भन्ने बुझ्छौँ।
सम्भवतः त्यही भएरै आज पनि उनका शब्दहरू उत्तिकै जीवन्त रहन सकेका छन्। आजको उर्दु साहित्यका सबैभन्दा चर्चित आवाज बन्द भएको यो घडीमा पनि हाम्रासामु उनकै रचनाहरू गहिरो मार्मिकतासहित उभिन्छन्, जहाँ उनी लेख्छन्–
मोहब्बतों में दिखावे की दोस्ती न मिला
अगर गले नहीं मिलना तो हाथ भी न मिला
बशीर बद्र हामीलाई छोडेर त गए, तर उनका रचना यस उपमहाद्वीपभर हाम्रा भावनात्मक जीवनमा चुपचाप उदात्त भावसहित अनन्तसम्म बाँचिरहनेछन्।
(नेसनल हेराल्डबाट)







