सीमाबाट ११ किलो गाँजासहित एक पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

पर्साको भारतसँग जोडिएको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ११ किलो गाँजाजस्तो देखिने लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर १३ गण पर्साका अनुसार सोमबार बिहान करिब २ बजे बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बीओपी प्रसौनीभाठ्ठा र बीओपी अमरपट्टीबाट खटिएको संयुक्त गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी ५८ वर्षीय मनोहर सहनी रहेका छन्। उनी भारततर्फ जाँदै गर्दा बोकेको प्लास्टिकको बोरामा जाँच गर्दा दुई पोकामा राखिएको ११ किलो गाँजाजस्तो देखिने पदार्थ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद लागूऔषध र पक्राउ परेका सहनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको सशस्त्र प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिएका छन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः