पर्सा , कार्तिक २७ –
नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तीन हार बेहोरेको जनकपुर बोल्ट्सले आज चितवन राइनोजसँग खेल्दैछ। प्लेअफको झिनो सम्भावना जीवित राख्न जनकपुरलाई जित्नैपर्ने दबाब छ।
६ खेलबाट दुई जित र चार हारसहित चार अंक जोडेको जनकपुर अंकतालिकाको छैटौँ स्थानमा छ। चितवनविरुद्ध जित निकाले पनि अन्य टोलीको नतिजा र नेट रनरेटमा निर्भर रहनुपर्नेछ।
जनकपुरको बलिङ बलियो देखिए पनि पछिल्ला खेलमा ब्याटिङ कमजोर बनेको छ। बलर हरमित सिंहले ६ खेलमा ११ विकेट लिँदै प्रतियोगितामा सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा छन्। ब्याटिङतर्फ सैफ हसनले चार खेलमा १४० रन बनाएका छन्।
जनकपुरले पछिल्ला तीन खेलमा विराटनगरसँग दुई, लुम्बिनीसँग १६ र सुदूरपश्चिमसँग २७ रनले हार बेहोरेको थियो।
चितवनसँगका अघिल्ला दुई भेटमा दुवै टोलीले एक–एक खेल जितेका छन्। त्यसैले आजको खेल जनकपुरका लागि प्लेअफ दौडमा टिकिरहने अन्तिम अवसर बनेको छ।






