आज र भोलि भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

आज र भोलि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङसहित भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् तथा विपद् व्यवस्थापन निकायले आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ। केही स्थानमा आरीघोप्टे वर्षासमेत हुन सक्ने महाशाखाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विशेषगरी पूर्वी तथा पश्चिम तराईका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। लगातारको वर्षासँगै पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव, नदी तथा खोलामा आकस्मिक बाढी, तराई र सहरी क्षेत्रमा डुबान तथा कटानको जोखिम बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा नजान र सुरक्षित स्थानमा बस्न अनुरोध गरिएको छ।

प्राधिकरणका अनुसार मनसुन अब देशका बाँकी भागमा पनि विस्तार हुने क्रममा रहेकाले आगामी केही दिनसम्म वर्षाको गतिविधि अझ सक्रिय रहने सम्भावना छ। यस वर्ष मनसुन औसत मितिभन्दा ६ दिन ढिलो, असार ५ गते नेपाल प्रवेश गरेको भए पनि हालसम्म देशभर पूर्ण रूपमा फैलिन सकेको छैन। पर्याप्त वर्षा हुन नसकेको अवस्थामा अब एक्कासि भारी वर्षा हुने सम्भावना रहेकाले थप सावधानी अपनाउन भनिएको छ।

विपद्का बेला तत्काल सहयोग आवश्यक परे विपद् हटलाइन ११४९, मौसमसम्बन्धी जानकारीका लागि ११५५, नेपाल प्रहरी १०० तथा सशस्त्र प्रहरी बल नेपालको १११४ नम्बरमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ। साथै स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना तथा मौसम पूर्वानुमानलाई नियमित रूपमा पालना गर्न पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः