फरार वन मुद्दाका प्रतिवादी देवानले गरे आत्मसमर्पण

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १६ —

वन मुद्दामा पक्राउ परेका एक प्रतिवादी प्रहरी नियन्त्रणबाट फरार भएको केही समय पछि आफै आत्मसमर्पण गरेका छन ।

डिभिजन वन कार्यलय पर्साका अनुसार पर्सागढी नगरपालिका–४ निवासी २८ वर्षीय मेराजुल देवान (लालबाबु) सोमबार बिहान करिब ९ बजे आत्मसमर्पण गरेका हुन । उनी शनिबार बेलुका प्रहरी चौकी बढनियारबाट हतकडीसहित प्रहरीलाई छल्दै फरार भएका थिए।

प्रहरीले फरार भएलगत्तै इलाका प्रहरी कार्यालय पटेर्वासुगौली, प्रहरी चौकी बढनियारसहित विभिन्न प्रहरी टोली परिचालन गरी खोजी अभियान सञ्चालन गरेको थियो। तर उनी आफै सोमबार बिहान प्रहरीकोमा पुगेर आत्मसमर्पण गरेका डिभिजन वन कार्यलय पर्साका प्रमुख मन्जुर अहमदले बताए ।

प्रहरीका अनुसार देवानविरुद्ध सब वन डिभिजन कार्यालय सबैयामा तीन वटा वन मुद्दा दर्ता छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएको काठ तस्करीसम्बन्धी भिडियोमा उनको संलग्नता देखिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो।

पुनः पक्राउ परेका देवानलाई आवश्यक कानुनी कारबाहीका लागि सब वन डिभिजन कार्यालय सबैयामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः