वीरगंज, असार १६ —
पर्साको भारतसँग जोडिएको सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले ११ किलोग्राम गाँजाजस्तो देखिने प्रतिबन्धित लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब २ बजे बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रमा बीओपी प्रसौनीभाठ्ठा र बीओपी अमरपट्टीबाट खटिएको सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले बहुदरमाई नगरपालिका–८ रामनगरी निवासी ५८ वर्षीय मनोहर सहनीलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार नेपालबाट भारततर्फ जाँदै गरेका सहनीमाथि शंका लागेपछि जाँच गर्दा उनले बोकेको प्लास्टिकको बोराभित्र दुई पोकामा राखिएको ११ किलोग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो।
सशस्त्र प्रहरी बल नम्बर १३ गण मुख्यालय पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाका अनुसार बरामद लागूऔषध र पक्राउ परेका सहनीलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ।







