पर्सा , असोज ३ –
निर्वाचन आयोगले आगामी फागुनमा स्थानीय तह निर्वाचन गर्ने गरी तयारी अघि बढाएको छ। आयोगका आयुक्त राजीव सुब्बाका अनुसार स्थानीय तहको कार्यकाल सकिनुभन्दा दुई महिनाअघि निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार तयारी भइरहेको छ।
आयोगले अहिले मतदाता नामावली अद्यावधिकको काम गरिरहेको छ। फागुनमा निर्वाचन हुने अवस्था बने माघमा पुनः नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने तयारी छ।
यसैगरी, स्थानीय तह तथा प्रदेशसभा निर्वाचनमा केही जिल्ला र निर्वाचन क्षेत्रमा अन्तरजिल्ला मतदानको व्यवस्था सुरु गर्नेबारे आयोगले अध्ययन गरिरहेको छ। प्रविधिमैत्री निर्वाचनका लागि विद्युतीय मतदान (ई–भोटिङ) प्रणालीबारे समेत आयोगले तयारी गरिरहेको जनाएको छ।
यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह निर्वाचन भएको थियो। संविधानले स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष हुने र कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।







