वीरगंज , असोज ३ –
पर्सा प्रहरीले नेकपा एमालेका नेता तथा जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका ४६ वर्षीय छोरा नासिर अहमदलाई ज्यानसम्बन्धी कसुरको अनुसन्धानका लागि पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार नासिरलाई शुक्रबार साँझ वीरगंज महानगरपालिका–१३ मुर्लीबाट पक्राउ गरिएको हो। उनीमाथि ज्यानसम्बन्धी तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार नातामा साली पर्ने एक महिलाको मृत्यु घटनामा नासिरमाथि संलग्नताको आरोप छ। २०७८ सालमा ती महिलाको शव दफन गर्ने क्रममा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। करिब पाँच वर्षपछि नासिर पक्राउ परेका हुन्।
घटनामा संलग्न भनिएका अन्य केही व्यक्ति अझै फरार रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका नासिरमाथिको आरोपबारे अनुसन्धान जारी रहेकाले कसुरको अन्तिम पुष्टि न्यायिक प्रक्रियाबाट हुने प्रहरीले जनाएको छ।






