सिरहा – सिरहामा झन्डै दुई वर्षअघि भएको सशस्त्र प्रहरी बल नेपालका सईको हत्या घटनाका मुख्य अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर पक्राउ गरेको छ । सशस्त्र प्रहरीका सई लक्ष्मणप्रसाद यादवको हत्या घटनाका अभियुक्त भारतको बिहार राज्य मधुवनीका ३८ वर्षीय मोहम्म्द कुरबान मन्सुरीलाई घटना भएकै ठाउँ कचनारीबाट शनिबार दिउँसो प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । प्रहरीले तीन राउन्ड गोली चलाउँदा एउटा गोली मन्सुरीको बायाँ हात र अर्को गोली दायाँ खुट्टामा लागेको छ ।
मन्सुरीको सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार, नेपालबाट भारत मदिरा तस्करी गर्ने मन्सुरी सई यादवलाई ठक्कर दिने गाडीका धनी हुन् भने घटनाका बेला उनी आफैंले गाडी पनि चलाएका थिए ।
२०८१ मंसिर १६ गते बिहान बरियापट्टी गाउँपालिका-१, कचनारी छोट्की टोलस्थित बीओपीका सई लक्ष्मणप्रसाद यादवको कमाण्डमा पाँच जनाको गस्ती टोली खटिएको थियो । गस्ती टोलीले त्यस दिन बिहान ३ बजेर १० मिनेट जाँदा भारतीय सफारी गाडीमा मदिरा तस्करी भएको देखेको थियो ।
मोटरसाइकलमा गस्ती रहेको सई यादवको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले उक्त गाडीलाई पछ्याएको थियो । त्यसक्रममा मदिरा तस्कर समूहको गाडीले सई यादवलाई किचेर भारततर्फ फरार भएको थियो । गाडीको ठक्करबाट गम्भीर घाइते भएका सई यादवको लहानस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्युु भएको थियो ।
उक्त घटनापछि मन्सुरी अधिकांश समय भारतमै बस्दै आएका थिए । प्रहरीले उनलाई खोज्दै शनिबार नियन्त्रणमा लिन खोज्दा सुरुमा प्रहरी भएकैतिर गोली प्रहार गरी उनी भाग्न खोजेका थिए । त्यसपछि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा रहेको प्रहरी टोलीले उनलाई गोली हानी नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक पाठकले बताए ।
सशस्त्र प्रहरीका ४८ वर्षीय मृतक सई यादव सिरहाकै नरहा–४ का बासिन्दा थिए ।






