संविधानको पालना गर्नु नागरिकको दायित्व– सांसद पन्त

1200x150_1200x150-01.jpg (1)

वीरगंज । सांसद बुद्धिप्रसाद (हरि) पन्तले संविधानको पालना गर्नु नागरिकको अधिकार र दायित्व भएको बताएका छन् ।

११औं संविधान दिवसको अवसरमा वीरगंज स्कुल अफ लको आयोजनामा घण्टाघरमा शनिवार आयोजित दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य  पन्तले रास्वपाले संविधानको पालना गर्ने र गराउने बताए । उनले संविधानले सुनिश्चित गरेका अधिकारको संरक्षणसँगै नागरिकले पनि आफ्नो कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिए।

कलेजका निर्देशक अधिवक्ता चन्द्रिका पटेलको अध्यक्षतामा आयोजित कार्यक्रममा प्राध्यापक डा. हरेराम ठाकुर, घण्टाघरस्थित अस्थायी प्रहरी पोस्टका इन्चार्ज असई चौधरीलगायत विद्यार्थी, युवा तथा बुद्धिजीवीहरूले संविधानको कार्यान्वयन, नागरिकका अधिकार तथा राज्यका दायित्वका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले संविधानलाई समयानुकूल बनाउँदै नागरिकका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयन तथा कानुनी शासनलाई थप बलियो बनाउनुपर्नेमा जोड दिएका थिए। संविधानमा आवश्यक संशोधन गरी बलात्कारजस्ता जघन्य अपराधमा संलग्न दोषीलाई कडा कानुनी सजायको व्यवस्था गर्नुपर्ने माग गरेका थिए।

कार्यक्रमका वक्ताहरूले संविधान दिवसलाई औपचारिक रूपमा मात्र नभई संविधानले प्रत्याभूत गरेका नागरिक अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी शासनवारे जनचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका थिए। दीप प्रज्वलनसँगै सहभागीहरूले संविधानको प्रभावकारी कार्यान्वयन र नागरिक अधिकारको संरक्षणका लागि प्रतिबद्धता व्यक्त गरेका थिए।

सम्बन्धित पोस्टहरुः