रक्सौल , असोज ७ –
भारतको पूर्वी चम्पारणस्थित दरपा थाना प्रहरी हिरासतबाट सिपाहीलाई इँटाले प्रहार गरी हतकडीसहित फरार भएका युवक पुनः पक्राउ परेका छन्।
दरपा थाना क्षेत्रको तिनकोनी गाउँका नन्हक सिंहका छोरा विकास सिंहलाई प्रहरीले आफ्नै गाउँबाट पक्राउ गरेको हो। प्रहरीले शंकाको आधारमा आइतबार राति उनलाई नियन्त्रणमा लिएर थानामा ल्याएको थियो।
सोमबार बिहान शौचालय जाने क्रममा सिपाही राजेश्वर सिंहलाई इँटाले प्रहार गरी घाइते बनाएर विकास हतकडीसहित फरार भएका थिए। त्यसपछि प्रहरीले खोजी अभियान चलाउँदा गाउँमै लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।






