बारा , कार्तिक २१ —
बाराको परवानीपुर गाउँपालिका–३ स्थित परवानीपुर बजारमा नयाँ प्रविधिमा आधारित कोल्ड प्रेस कच्ची घानी तेल मिल सञ्चालनमा आएको छ।
परवानीपुर गाउँपालिका–२ निवासी राजकमल साहले १० लाख रुपैयाँको लगानीमा चिनियाँ प्रविधिमा आधारित उक्त तेल मिल सञ्चालनमा ल्याएका हुन्। बचाई शाह पार्टी प्यालेसको तल्लो तलामा केशव एग्रो फार्मअन्तर्गत सञ्चालनमा आएको मिलले स्थानीय उपभोक्तालाई शुद्ध तोरीको तेल उपलब्ध गराउने उद्देश्य राखेको सञ्चालक साहले बताए।
मिलबाट अढाइ लिटर तोरीबाट एक लिटर तेल निकाल्ने गरिएको छ। उत्पादित शुद्ध तोरीको तेल प्रतिलिटर ४२० रुपैयाँमा बिक्री भइरहेको छ। त्यस्तै, ग्राहकले आफ्नो तोरी वा आलस ल्याएर पेलाउँदा प्रतिलिटर वा प्रतिकिलो १५ रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरिएको छ।
दीपावली तथा छठ पर्वमा खाने तेल र दियो बाल्ने तेलको माग बढ्ने भएकाले उपभोक्तालाई शुद्ध तेल उपलब्ध गराउन व्यवसाय सुरु गरिएको सञ्चालकले बताए।
१३ एचपीको मोटर र थ्री फेज विद्युत्बाट सञ्चालन हुने उक्त आधुनिक मेसिन हेर्न स्थानीय उपभोक्ताको आकर्षण बढेको छ।







