पर्सा , असोज ७ –
रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका नेपाल प्रहरीका हवल्दार श्रवणकुमार यादवको कुशको प्रतीकात्मक शव बनाएर आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत पर्सागढी नगरपालिका–९, एकटङ्गाका यादव बाढीपछि लामो समयसम्म बेपत्ता रहेका थिए । उनको जीवित अवस्था वा शव फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर तिलावे खोलाको घाटमा अन्तिम संस्कार गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले सलामी अर्पण गर्दै कुशको प्रतीकात्मक शवमा नेपाल प्रहरीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गरेको थियो।
अन्त्येष्टिमा डिएसपी राजु कार्कीले यादवको निधन नेपाल प्रहरीका लागि दुःखद् घटना भएको बताएका छन्। उनले परिवार र बालबालिकाको शिक्षादीक्षाका लागि राज्यबाट प्राप्त हुने सेवा–सुविधा तथा सहयोग उपलब्ध गराउन पहल गर्ने बताएका छन्।
अन्त्येष्टिमा पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठक, वडा नम्बर ९ का अध्यक्ष राम बधाई यादव, जनप्रतिनिधि, सञ्चारकर्मी, आफन्त तथा स्थानीयको उपस्थिति रहेको थियो।








