रौतहट, ७ असोज । रौतहटको गौर नगरपालिका–४ टिकुलियास्थित एक घरमा सशस्त्र प्रहरीले छापा मारेर करिब ५० लाख रुपियाँभन्दा बढी मूल्यका मोबाइल पार्टसका सामान बरामद गरेको छ।
गौर नगरपालिका–४ टिकुलियाका भोला साहको घरमा सशस्त्र प्रहरीले छापा मारेर ती सामान बरामद गरेको हो।
सशस्त्र प्रहरी बल नेपाल नंबर ११ गण हेडक्वार्टर रौतहटका गणपति सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशी र गौर भन्सार कार्यालयका प्रतिनिधिसहितको टोलीले साहको घरमा छापा मारेर खानतलासी गरेको थियो।
त्यसक्रममा घरभित्र लुकाइछिपाइ राखिएको ५० लाख १४ हजार ५०१ रुपियाँँ बराबरको मोबाइलका पार्टस बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
दुर्ईवटा मोटरसाइकलसमेत नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद सामानको स्रोत तथा त्यसमा संलग्न व्यक्तिवारे थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।






