पर्सा , असोज १३ –
सर्लाहीस्थित भूमिगत जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयकी कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल इन्जिनियर तुलाकान्त चौधरीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससम्बन्धी मुद्दा चलाएको छ।
डिप बोरिङ गरी ट्युबवेल र मोटर जडान गर्ने कामको भुक्तानीका लागि ठेकेदारसँग रकम मागेको आरोपमा उनीहरूविरुद्ध मुद्दा अघि बढाइएको हो। अख्तियारका अनुसार ढकालको सरकारी निवासबाट ७ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो।
अनलाइनखबरका अनुसार, सर्लाहीका १३ वटा उपभोक्ता समितिमार्फत भएको बोरिङ तथा ट्युबवेल जडानको काममा कमिसन मागिएको विषयमा ठेकेदारहरूले ढकालसँग गरेको कुराकानी रेकर्ड गरेका थिए। उक्त संवादमा विभिन्न प्रतिशतका दरमा रकम मागिएको र रकम नदिए भुक्तानीमा समस्या हुने भनिएको विवरण अनुसन्धानमा समेटिएको छ।
अख्तियारमा परेको उजुरीपछि अनुसन्धानका क्रममा ढकालको निवासबाट घुसको रकम बरामद गरिएको र मेकानिकल इन्जिनियर चौधरीले रकम ल्याएर दिएको बयानसमेत प्राप्त भएको रिपोर्टमा उल्लेख छ। उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ।
रिपोर्टमा ढकालले कुराकानीका क्रममा मधेश प्रदेशका तत्कालीन ऊर्जा मन्त्री जवाहरलाल कुशवाह र सचिव होमनाथ पौडेलको नाम लिएको उल्लेख छ। तर दुवैले आफू कुनै त्यस्तो गतिविधिमा संलग्न नरहेको बताएका छन्। मन्त्री कुशवाहले आफूले कर्मचारीलाई अनियमित काम नगर्न निर्देशन दिएको दाबी गरेका छन् भने सचिव पौडेलले आफू त्यस्ता गतिविधिमा संलग्न नभएको बताएका छन्।
अख्तियारले ढकालको मोबाइलबाट ३० वटा ठेक्काबाट ७२ लाख रुपैयाँ उठाउने योजनासहितको विवरण फेला परेको र घुससम्बन्धी अन्य रकमबारे छुट्टै अनुसन्धान अघि बढाउने निर्णय गरेको जनाएको छ।







