काठमाडौँ। विदेशबाट खाद्यान्न आयातको स्वीकृति प्राप्त गर्न गैरकानुनी रूपमा ६१ हजार रुपैयाँ घुस बुझाएपछि ‘नेचर इन्टरनेसनल’का सञ्चालक रोहित सिंघानिया भ्रष्टाचार मुद्दामा तानिएका छन्। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीलाई अनुचित लाभ (घुस) दिएको पुष्टि भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंघानियालाई मतियारका रूपमा कसुरदार ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्नुपर्ने आवाज उठ्न थालेको छ।
अख्तियारको अनुसन्धानअनुसार ‘नेचर इन्टरनेसनल’ फर्मका सञ्चालक रोहित सिंघानिया र शिवमकुमार राउतले आफ्नो फर्मको खाद्यान्न आयात स्वीकृति सहजै गराउने नियतले अधिकृत अधिकारीलाई ६१ हजार रुपैयाँ घुस रकम भुक्तानी गरेका थिए।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम राष्ट्रसेवक कर्मचारीले पदीय दुरुपयोग गरी घुस लिनु जत्तिकै गम्भीर कसुर गैरकानुनी काम गराउने वा अनुचित लाभ लिने नियतले घुस दिनु वा दिन सघाउनु पनि हो। सोही कानुनी व्यवस्थाका आधारमा घुस लिने अधिकृतसँगै आफ्नो व्यावसायिक स्वार्थका लागि घुस रकम बुझाउने सञ्चालक रोहित सिंघानियासमेत कानुनी रूपमा दुष्प्रेरक/मतियारका रूपमा भ्रष्टाचारको कसुरदार ठहर भई सजायको दायरामा आएका हुन्।
खाद्य अनुसन्धान अधिकृत अर्जुन अधिकारीले विदेशबाट खाद्यान्न आयात गर्ने अनुमति पत्र जारी गर्ने क्रममा नेचर इन्टरनेसनलसहित ५३ जना व्यवसायीहरूबाट कुल २८ लाख २० हजार रुपैयाँ घुस रकम असुल गरेका थिए। अधिकृत अधिकारीले घुसबापतको रकम सङ्कलन गर्न आफ्ना ७६ वर्षीय ससुरा वसन्तकुमार बस्यालको बैंक खाता खोलेर त्यसको एटीएम आफैँले प्रयोग गर्ने गरेका थिए। त्यसका अलावा आफ्ना साथीहरू रश्मिला श्रेष्ठ र सुरेश चौधरीको बैंक खातासमेत घुस रकम सङ्कलनका लागि प्रयोग गरेको छानबिनबाट पुष्टि भएको छ।
घुस नदिई आयात स्वीकृति नदिने नियत देखिएपछि पीडित व्यवसायीहरूले अख्तियारमा उजुरी दिएका थिए।






