विद्यालयमा रक्सी र मासुको भोज

1200x150_1200x150-01.jpg (1)

राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–७ बभनगामाकट्टीस्थित लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा पढाइ–लेखाइभन्दा भोजको चहलपहल बढी हुन्छ।

बिहीवार दिउँसै विद्यालय परिसरमा मासु पाक्यो । मदिराको व्यवस्था भयो । भोजमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीसँगै जनप्रतिनिधिसमेत सहभागी भए।

भोज चलिरहँदा सहभागीहरूका लागि त्यो स्वागत कार्यक्रम थियो। तर भोजको दृश्य विद्यालयबाहिर पुगेपछि घटनाले अर्कै रूप लियो। सञ्चारकर्मी विद्यालय पुगे। फोटो तथा भिडियो खिच्न थाले। त्यसक्रममा कार्यालय सहयोगीहरूसँग विवाद भयो। सञ्चारकर्मीमाथि हातपात भएको आरोप लाग्यो, जसलाई प्रधानाध्यापक विपिन झाले पनि स्वीकार गरेका छन।

त्यसपछि विद्यालय व्यवस्थापन समितिले चार जना कार्यालय सहयोगीमाथि कारबाही गर्यो । राजदेव मण्डल, भुषणप्रसाद सिंह, शिवशंकर मण्डल र भगवतीप्रसाद यादवको हाजिरी रोक्ने तथा उनीहरूलाई कामबाट हटाउने निर्णय भयो।

तर भोजमा सहभागी प्रभावशाली व्यक्तिहरूको भूमिकामाथि त्यही स्तरको कारबाही वा छानबिन भयो कि भएन भन्ने प्रश्न भने उठेको छ।

घटनाको शुरूवात विद्यालयमा एक जना शिक्षकको सरूवाबाट भएको थियो। राजविराजका बासिन्दा विज्ञान शिक्षक उमाशंकर देव एक महिनाअघि सिरहाबाट सरूवा भएर लक्ष्मी बल्लभ नरसिंह माध्यमिक विद्यालयमा आएपछि उनको स्वागतका लागि विद्यालयमै भोज आयोजना गरिएको थियो।

प्रधानाध्यापक विपिन झाका अनुसार शिक्षक तथा कर्मचारी सरूवा भएर आउँदा स्वागतमा भोज गर्ने विद्यालयको पुरानै परम्परा हो। यसअघि पनि यस्ता भोज हुँदै आएको उनको भनाइ छ। उमाशंकर देवको स्वागतमा आयोजना गरिएको भोज पनि सामूहिक छलफलबाटै तय गरिएको प्रधानाध्यापक बताउँछन।

भोजमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यनारायण यादव, व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी र सम्बन्धीत वडाका अध्यक्ष तथा सदस्यसमेत सहभागी थिए। खानाका परिकारसँगै मदिराको समेत व्यवस्था गरिएको थियो।

प्रधानाध्यापक झाका अनुसार मदिरा सेवन गर्ने र नगर्नेहरूका लागि छुट्टाछुट्टै व्यवस्था थियो। अर्थात, विद्यालय परिसरमा भएको यो कार्यक्रम सामान्य चिया–नास्ता वा औपचारिक स्वागतमा मात्र सीमित थिएन।

भोजको अर्काे पाटो अझ रोचक छ। प्रधानाध्यापक झाका अनुसार उनी करिब ४ बजे भोजमा सहभागी हुन पुगेका थिए र करिब ६ बजेतिर विद्यालयबाट निस्किएका थिए। भोजमा सहभागी विद्यालय व्यवस्थापन तथा नेतृत्व तहका अधिकांश व्यक्तिहरू खाना खाएर फर्किए। तर कार्यालय सहयोगीहरू भने भोज व्यवस्थापनमै खटिइरहेका थिए। पाहुनालाई खाना खुवाउने, भाँडा माझ्ने र अन्य व्यवस्थापनको काम उनीहरूले गरिरहेका थिए। त्यही क्रममा विद्यालय परिसरमा स्थानीय तथा सञ्चारकर्मी पुगे।

भोजको दृश्य देखेपछि फोटो तथा भिडियो खिच्न थालियो। त्यसक्रममा केही कार्यालय सहयोगी मदिरा सेवन गरिरहेको देखिएको र उनीहरूसँग सञ्चारकर्मीको विवाद भएको बताइएको छ। यही प्रकरणपछि विवाद बढ्यो। सञ्चारकर्मीमाथि हातपात भएको आरोप लाग्यो।

प्रधानाध्यापक झाले पनि कार्यालय सहयोगी र सञ्चारकर्मीबीच विवाद भएको स्वीकार गरेका छन। र त्यसपछि आयो विद्यालय व्यवस्थापन समितिको निर्णय। भोजमा सहभागी नेतृत्व तहका व्यक्तिहरूमाथि होइन, चार जना कार्यालय सहयोगीमाथि कारबाही।

प्रधानाध्यापक विपिन झा भने कार्यालय सहयोगीलाई भोजमा सहभागी भएकै कारण कारबाही गरिएको भन्ने स्वीकार गर्दैनन। उनका अनुसार भोजमा सहभागी हुनु र सञ्चारकर्मीसँग विवाद गर्नु दुर्ई अलग विषय हुन।

उनको भनाइमा कार्यालय सहयोगीले मदिरा सेवन गरेर सञ्चारकर्मीसँग विवाद गरेपछि विद्यालयको प्रतिष्ठामा असर परेको थियो। त्यसैले उनीहरूमाथि कारबाही गरिएको हो। प्रधानाध्यापक झाका अनुसार आफू विद्यालयबाट निस्किएपछि अन्य सहभागी पनि फर्किए। त्यसपछि सञ्चारकर्मीहरूको टोली विद्यालय पुगेको र मदिरा सेवन गरेका कार्यालय सहयोगीले उनीहरूसँग विवाद गरेको उनको भनाइ छ।

सम्बन्धित पोस्टहरुः