पर्सा , असोज २० ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–२ रमपुराका डा. दिनेश मरिक (डोम) लााई वीरगंजमा आयोजित विशेष कार्यक्रममा सम्मान गरिएको छ। डोम समुदायबाट डाक्टर बन्न सफल मरिकको संघर्ष र उपलब्धिलाई समुदायको प्रेरणाका रूपमा सम्मान गरिएको हो।
विभेद र आर्थिक अभावका कारण अध्ययनका क्रममा भोग्नुपरेका कठिनाइ पार गर्दै मरिकले चिकित्सा शिक्षा पूरा गरेका हुन्। उनको अध्ययनमा लेखक, पत्रकार तथा दलित अधिकारकर्मी भोला पासवानले छात्रवृत्ति तथा सहयोग जुटाउन पहल गरेका थिए।
कार्यक्रममा मरिकको सफलतालाई सीमान्तकृत तथा विपन्न समुदायका युवाका लागि प्रेरणादायी उपलब्धि भन्दै आगामी दिनमा यस्ता विद्यार्थीलाई छात्रवृत्ति र आर्थिक सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिइएको थियो।
सो अवसरमा सीमान्तकृत समुदायबाट थप १०० जना डाक्टर तयार पार्ने लक्ष्यसहित पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरिएको छ।







