रौतहट , मंसिर ६ –
रौतहटको यमुनामाई गाउँपालिका–५ झुनखुनवा चोकमा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरिरहेका बेला मोटरसाइकलमा आएका एक अपरिचित व्यक्तिले युवकलाई चक्कु प्रहार गरी मोटरसाइकल घटनास्थलमै छाडेर फरार भएका हुन्।
चक्कु प्रहारबाट राजपुर नगरपालिका–१ भगवानपुर निवासी रविन्द्र यादवका करिब ३० देखि ३५ वर्षीय छोरा राजेश यादव घाइते भएका छन्। उनलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पठाइएको छ।
घटनापछि आक्रोशित स्थानीयवासीले आक्रमणकारीलाई तत्काल पक्राउ गरी निष्पक्ष छानबिन गर्न र पीडितलाई न्याय दिन माग गर्दै गौर–चन्द्रनिगाहपुर सडकखण्ड अवरुद्ध गरेका छन्।






