बर्दिबास – नेपाली सेना र सञ्चारजगत बिचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय र प्रभावकारी बनाउने उद्देश्यले मधेस प्रदेशका पत्रकारहरूका लागि चारदिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ मंगलबारदेखि सुरु भएको छ।
श्री मध्यपूर्वी पृतना हेडक्वार्टर, बर्दिबासको आयोजनामा सुरु भएको कार्यक्रमको शुभारम्भ पृतनापति श्री भुवन केसीले गरेका हुन्। कार्यक्रममा मधेस प्रदेशका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ जना सञ्चारकर्मी सहभागी छन्।
कार्यक्रममार्फत सञ्चारकर्मीलाई नेपाली सेनाको संगठनात्मक संरचना, जिम्मेवारी, भूमिका तथा प्रमुख गतिविधिबारे आवश्यक जानकारी प्रदान गरिनेछ। सेनासम्बन्धी समाचार संकलन तथा सम्प्रेषण गर्दा तथ्यमा आधारित र सहज रूपमा समाचार तयार गर्न कार्यक्रम उपयोगी हुने सेनाले जनाएको छ।
कार्यक्रमका बारेमा प्रमुख सेनानी तथा कार्यक्रम सयाेजक प्रतिभा थापाले पत्रकार र नेपाली सेनाबीचको समन्वय तथा आपसी समझदारीलाई थप प्रभावकारी बनाउने उद्देश्यले अभिमुखीकरण आयोजना गरिएको बताउनुभयो ।
चार दिनसम्म चल्ने कार्यक्रममा सेनाको कार्यक्षेत्रसँगै विपद् प्रतिक्रिया, समसामयिक विषय तथा संकटका समयमा सञ्चारको भूमिका लगायतका विषयमा जानकारीमूलक प्रस्तुतीकरण र अन्तरक्रियासमेत सञ्चालन गरिनेछ।
सेनाका गतिविधि र जिम्मेवारीबारे सञ्चारकर्मीलाई प्रत्यक्ष जानकारी गराउँदै आएको यस्तो कार्यक्रमले सुरक्षा निकाय र सञ्चारमाध्यमबीचको दूरी घटाउने तथा तथ्यपूर्ण समाचार सम्प्रेषणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।






