पर्सा , कार्तिक ११ —
बाराको परवानीपुरस्थित कृषि अनुसन्धान निर्देशनालयका कार्यालय प्रमुख विश्वेश्वर यादवमाथि कर्मचारी तथा ज्यामीमाथि विभेद गरेको, आफन्तलाई विशेष सुविधा दिएको र सरकारी संरचना व्यवस्थापनमा अनियमितता गरेको आरोप लागेको छ।
कार्यालयमा कार्यरत कर्मचारी तथा ज्यामीहरूले प्रमुख यादवले आफन्तलाई प्राथमिकता दिने र अन्य कर्मचारीमाथि कडाइ गर्ने गरेको आरोप लगाएका छन्।
कार्यालयमा २६ जना ज्यामी कार्यरत रहे पनि सबैले नियमित काम नपाएको उनीहरूको गुनासो छ। दैनिक ज्याला ७६० रुपैयाँ निर्धारण गरिएको भनिए पनि आफूहरूले ६४० रुपैयाँ मात्रै पाउने गरेको ज्यामीहरूले बताएका छन्।
त्यस्तै कार्यालय प्रमुखका भान्जा विपिन यादवले काम नगरे पनि तलब तथा सुविधा पाउने गरेको र विरोध गर्ने कर्मचारीलाई सरुवा वा कामबाट हटाउने गरिएको आरोपसमेत लागेको छ।
कर्मचारीहरूले आफन्तलाई निःशुल्क बीउ वितरण गरिएको दाबी पनि गरेका छन्। साथै करिब ४२ लाख रुपैयाँमा निर्माण भएको स्क्रिन हाउस र ६० लाख रुपैयाँ लागतको धान प्रशोधन भवन प्रभावकारी रूपमा प्रयोगमा नआएको उनीहरूको भनाइ छ।
निर्देशनालय परिसरमा पालिएका भैंसीका लागि पर्याप्त घाँसको व्यवस्था नभएको तथा तालिम भवन जीर्ण र परिसर अव्यवस्थित रहेको गुनासोसमेत उठेको छ।
यद्यपि, आर्थिक अनियमितता तथा विभेदसम्बन्धी आरोपहरू स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।
यता कार्यालय प्रमुख विश्वेश्वर यादवले आफूमाथि लगाइएका सबै आरोप निराधार रहेको बताएका छन्। उनले आफ्नो कार्यकालमा कार्यालयको सुधारका लागि विभिन्न काम गरेको दाबी गर्दै आरोपहरूको खण्डन गरेका छन्।
कर्मचारीहरूले उठाएका विषयमा सम्बन्धित निकायबाट निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ।







