रक्सौल , कार्तिक ११ —
भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाको रक्सौलमा पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी (वन टाइम पासवर्ड) उपलब्ध गराएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
आन्ध्र प्रदेशको विजयवाडा प्रहरी र रक्सौल प्रहरीको संयुक्त टोलीले छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूको साथबाट दुईवटा मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा रक्सौलको नागा रोड, वडा नम्बर ११ निवासी २३ वर्षीय आदित्य पाण्डेय र मधुबनी जिल्लाका स्थायी बासिन्दा भई हाल रक्सौलको नोनियाडीहमा बस्दै आएका २४ वर्षीय राजा कुमार रहेका छन्।
रक्सौल प्रहरीले अक्टोबर २७ मा जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनीहरूमाथि पाकिस्तानी एजेन्टलाई भारतीय मोबाइल नम्बरका ओटीपी प्रयोग गर्न आवश्यक मोबाइल तथा अन्य स्रोतसाधन उपलब्ध गराएको आरोप छ। त्यसबापत रकम प्राप्त गर्ने गरेको प्रहरीको दाबी छ।
प्रहरीले उक्त गतिविधि भारतविरोधी साइबर जासुसीसँग सम्बन्धित हुन सक्ने आशङ्कामा अनुसन्धान अघि बढाएको जनाएको छ।
संयुक्त कारबाहीमा रक्सौलका अनुमण्डल प्रहरी पदाधिकारी मनीष आनन्द, प्रहरी निरीक्षक रमेश कुमार महतोलगायत विजयवाडा प्रहरीको टोली सहभागी थियो।
पक्राउ परेका दुवै जनामाथि विजयवाडा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। कथित आर्थिक कारोबार, ओटीपीको प्रयोग र सम्भावित अन्य संलग्न व्यक्तिहरूबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन।






