काठमाडौं , कार्तिक २० –
भारतीय रियालिटी शो ‘बिग बोस २०’ को पछिल्लो एपिसोडमा साथीलाई परिवारको सन्देश सुनाउन तीन प्रतियोगीले आफ्नो अतिरिक्त लाइफलाइन त्यागेका छन् ।
कार्यक्रममा गुल्लूले कनिका मानका लागि र मनीष गोयलले काजी तौकीरका लागि आफ्नो अतिरिक्त लाइफलाइन छाड्दै उनीहरूलाई परिवारको अडियो सन्देश सुन्ने अवसर दिएका थिए । परिवारको आवाज सुनेपछि कनिका र काजी दुवै भावुक बने ।
कनिकाका लागि लाइफलाइन त्याग्ने क्रममा गुल्लूले उनलाई मायाले सम्बोधन गर्दै भने, ‘चौधरन, इतना तो कर सकता हूँ ।’ कनिकाले गुल्लूको निर्णयपछि उनलाई अँगालो हाल्दै धन्यवाद दिइन् । भावुक हुँदै उनले आफूले बिग बोसको घरमा एउटा आत्मीय सम्बन्ध कमाएको बताइन् ।
त्यस्तै, मनीषले काजीलाई परिवारको सन्देश सुन्न अवसर दिएका थिए । काजीका आमाबुवाले छोराप्रति माया व्यक्त गर्दै शो जित्न शुभकामना दिएका थिए ।
कनिकाले पनि यङका लागि आफ्नो अतिरिक्त लाइफलाइन त्यागिन् । परिवारको सन्देश सुनेपछि यङसमेत भावुक हुँदै रोएका थिए ।
प्रतिस्पर्धा र रणनीतिबीच साथीका लागि आफ्नो अवसर त्यागेका यी प्रतियोगीका निर्णयले ‘बिग बोस २०’ को पछिल्लो एपिसोडलाई भावनात्मक बनाएको थियो ।







