सिमरा, कात्तिक १९ –
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ का वडा सदस्य नवीन मैनालीले पदबाट राजीनामा दिएका छन् । आगामी स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदमा उम्मेदवारी दिने तयारीका साथ उनले राजीनामा दिएका हुन् ।
मैनालीले बुधबार उपमहानगरपालिका कार्यालय पुगेर नगरप्रमुख राजन पौडेलसमक्ष स्वेच्छिक राजीनामा बुझाएका थिए । उपमहानगरपालिकाले आवश्यक प्रक्रिया पूरा गरी बिहीबार उनको राजीनामा स्वीकृत गरेको जनाएको छ । कात्तिक १८ गतेदेखि लागू हुने गरी राजीनामा स्वीकृत गरिएको हो ।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित मैनाली केही महिनाअघि एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका थिए । उनी आगामी निर्वाचनमा रास्वपाबाट जीतपुरसिमरा–७ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने आकांक्षी रहेको बताइएको छ ।
राजीनामा पत्रमा मैनालीले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा प्रचलित कानुनी व्यवस्थालाई ध्यानमा राख्दै आगामी स्थानीय तह निर्वाचनलाई मध्यनजर गरी पदबाट अलग हुने निर्णय गरेको उल्लेख गरेका छन् ।
वडा सदस्यको जिम्मेवारीमा रहँदा पालिका र वडावासीको हितमा इमानदारीपूर्वक काम गर्ने प्रयास गरेको उल्लेख गर्दै उनले आफ्नो जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन् ।







