बारा , कार्तिक १९ –
बाराको पथलैया जंगलमा एक पुरुष अचेत अवस्थामा भेटिएका छन्। उनको पहिचान खुल्न नसकेपछि प्रहरीले आफन्त तथा चिनेका व्यक्तिलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट करिब एक किलोमिटर उत्तर जंगलभित्रको झाडीमा बिहीबार बिहान करिब १० बजे अन्दाजी ४२ वर्षीय पुरुष अचेत अवस्थामा फेला परेका थिए।
स्थानीयबाट सूचना प्राप्त भएपछि प्रहरी चौकी पथलैयाको टोली घटनास्थल पुगेको थियो। प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि वीरगंजस्थित नारायणी न्युरो अस्पताल पठाएको जनाएको छ।
गहुँगोरो वर्ण, करिब ५ फिट ५ इन्च उचाइ र कालो कपाल भएका ती पुरुषले निलो जिन्सको हाफ पाइन्ट र खरानी रङको टी–सर्ट लगाएका छन्।
प्रहरीले उनको पहिचान खुलाउन सहयोग गर्न तथा चिन्नुहुने व्यक्ति वा आफन्तलाई जिल्ला प्रहरी कार्यालय बारामा सम्पर्क गर्न अनुरोध गरेको छ।






