वीरगंज, कात्तिक १९ –
पर्सा प्रहरीले बिलमा उल्लेख भएभन्दा ४४ क्विन्टल बढी माछा लोड गरिएको ट्रक नियन्त्रणमा लिएको छ । प्रहरीले ट्रक र माछासहित ३२ लाख ११ हजार ३९२ रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा कात्तिक १८ गते राति करिब ११ बजे वीरगंज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट उक्त ट्रक नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर र प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त टोलीले प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको सेतो–कालो टाटा ट्रक रोकेको थियो । जाँचका क्रममा ट्रकमा १६ क्विन्टल माछाको मात्र भन्सार प्रज्ञापनपत्र रहेको तर आवश्यक कागजातमा उल्लेखित परिमाणभन्दा थप ४४ क्विन्टल माछा बढी लोड गरिएको पाइएको प्रहरीले जनाएको छ ।
ट्रकका चालक वीरगंज महानगरपालिका–२१ निवासी २३ वर्षीय रबीकुमार साहलाई समेत नियन्त्रणमा लिइएको छ ।
बरामद ट्रक र माछाको मूल्यांकन गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि कात्तिक १९ गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिएका छन् ।







