बारा , कार्तिक २१ —
बाराको जितपुरसिमरा उपमहानगरपालिका–१८ कटाटोलस्थित एक बाख्राको गोठमा जुवा (तास) खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २०८३ कात्तिक २० गते राति करिब १० बजेर १५ मिनेटको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको कमान्डमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गर्नुका साथै ७६ हजार ३९० रुपैयाँसमेत बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका–१७ का उपेन्द्र प्रसाद साह (३१), मिनबहादुर थिङ (६१), कुमार थिङ (३६), जिम्बु चौधरी (३७), सितलाल तामाङ (४९) र वाङ तामाङ (३०) रहेका छन्। त्यस्तै, कलैया उपमहानगरपालिका–२१ का देवचन्द्र प्रसाद चौधरी (५५) र रमेश साह (३१) पनि पक्राउ परेका छन्।
पक्राउ परेका आठै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमरामा राखिएको प्रहरीले जनाएको छ।






