इरानविरुद्ध थप सैन्य आक्रमण आवश्यक छैन : ट्रम्प

1200x150_1200x150-01.jpg (1)

अमेरिका , कार्तिक २४ –

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाही आवश्यक नरहेको बताएका छन्। इरानसँगको सैन्य द्वन्द्व प्रभावकारी रूपमा अन्त्य भइसकेको दाबी गर्दै उनले पुनः आक्रमण हुने सम्भावना निकै कम रहेको बताएका हुन्।

सोमबार ह्वाइट हाउसको ओभल अफिसमा कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल-थानीसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले मध्यपूर्वमा शान्ति स्थापनाका लागि सकारात्मक वातावरण बनेको बताएका छन्।

ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यतर्फ अघि बढिरहेको उल्लेख गर्दै अहिले थप सैन्य कारबाही गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। यद्यपि, आणविक सम्झौता हुन नसके सैन्य विकल्प खुला रहने उनको चेतावनी छ।

उनका अनुसार अमेरिकी सेना पूर्ण तयारी अवस्थामा रहेको छ। इरानका ३८ वटा प्रमुख पुल तथा ऊर्जा केन्द्रलाई निशाना बनाउन सक्ने क्षमता अमेरिकासँग भए पनि त्यस्ता पूर्वाधार नष्ट गर्दा पुनर्निर्माण गर्न लामो समय लाग्ने भएकाले आफू तत्काल त्यसो गर्न नचाहेको ट्रम्पले बताएका छन्।

यसैबीच, कतारका प्रधानमन्त्रीले ट्रम्प र उपराष्ट्रपति जेडी भान्ससँग वासिङ्टनमा साउदी अरब, कतार र ओमानको दुई दिने विश्वास अभिवृद्धि प्रस्तावबारे सकारात्मक छलफल भएको बताएका छन्।

उता, इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले तेहरानमा पत्रकारहरूसँग कुरा गर्दै इरानले अघि सारेको शान्ति प्रस्ताव अझै कायम रहेको बताएका छन्। तर, अमेरिकी नाकाबन्दी र प्रतिबन्ध हटाउनुपर्ने माग पूरा नभएसम्म हर्मुज जलमार्ग नखोल्ने तथा पूर्ण वार्ता अघि नबढ्ने इरानी पक्षले स्पष्ट पारेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भने इरानका सर्तहरूलाई अव्यावहारिक भन्दै आलोचना गरेका छन्। यद्यपि, कूटनीतिक माध्यमबाट समाधान खोज्ने बाटो खुला रहेको उनले बताएका छन्।

अमेरिकामा मध्यावधि निर्वाचनपछि इरान युद्धप्रति बढ्दो जनअसन्तुष्टिका बीच ट्रम्प प्रशासनले सैन्य कारबाहीभन्दा कूटनीतिक वार्तामार्फत संकट समाधान गर्ने संकेत दिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः