पर्सा , कार्तिक २६ –
मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानी गढीस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डमा बिहीबार बिहान यात्रुवाहक इभी माइक्रोबस दुर्घटना हुँदा चालकसहित १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको म.प्र.०३–००१ ज ०८८० नम्बरको माइक्रोबस बिहान करिब ५:४५ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी ५०० मिटर तल भिरमा खसेर दुर्घटनाग्रस्त भएको हो।
प्रहरीका अनुसार दुर्घटनाका बेला उक्त माइक्रोबसमा चालकसहित १४ जना सवार थिए। दुर्घटनापछि उद्धार टोलीले ५ जनालाई घाइते अवस्थामा उद्धार गरेको छ भने चालकसहित १० जनाको मृत्यु भएको पुष्टि भएको छ।
दुर्घटनामा मृत्यु भएका तथा घाइतेहरूको पहिचान खुल्न बाँकी रहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






