भारत–नेपाल सीमामा मल र गहुँको बीउसहित नेपाली नागरिक पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २६ –

भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले मल र गहुँको बीउसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।

एसएसबीको ४३औँ वाहिनीअन्तर्गत धनगढवा सीमा चौकीबाट खटिएको टोलीले सीमा स्तम्भ नम्बर ५४६ नजिकै बनकसिया गाउँ क्षेत्रमा गस्ती गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

गस्तीका क्रममा दुई जना व्यक्ति मोटरसाइकलमा सामान बोकेर सीमातर्फ आउँदै गरेको देखिएपछि सुरक्षाकर्मीले रोक्न खोजेका थिए। सुरक्षाकर्मीलाई देखेपछि दुवै जना सामान र मोटरसाइकल छाडेर भाग्न खोजेका थिए। सो क्रममा एक जना पक्राउ परेका छन् भने अर्का व्यक्ति फरार भएका छन्।

पक्राउ पर्ने व्यक्ति कपिलवस्तु जिल्लाको शिवलवा भन्सर, हतिहवा थाना क्षेत्रका नेपाली नागरिक रहेको एसएसबीले जनाएको छ।

उनको साथबाट एक बोरा युरिया मल, ६ बोरा गहुँको बीउ गरी कुल २२० किलो सामग्री र दुई थान मोटरसाइकल बरामद गरिएको छ।

बरामद सामग्री, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई थप कानुनी कारबाहीका लागि ककरहवा भन्सार कार्यालयमा बुझाइएको भारतीय सीमा सुरक्षा बलले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः