मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवद्वारा राजीनामा

1200x150_1200x150-01.jpg (1)

वीरगंज, कार्तिक २८ –

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन्। प्रदेशसभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

बहुमत प्राप्त गर्ने अवस्था नदेखिएपछि राजीनामा दिएको बताउँदै यादवले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको उल्लेख गरे।

सत्ता साझेदार नेकपा एमालेले गत असोज ३० गते चार मन्त्रीलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि यादव सरकार अल्पमतमा परेको थियो। त्यसपछि गत कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीले समेत सरकार छाडेपछि सरकार थप संकटमा परेको थियो।

१०२ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५२ सांसदको समर्थन आवश्यक थियो। प्रदेशसभामा जसपा नेपालका २७, एमालेका २४, कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन्। यस्तै, संघीय समाजवादी पार्टी र राप्रपाका एक–एक सांसद छन्।

मुख्यमन्त्रीको राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुलेको छ। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

भर्खरै

सम्बन्धित पोस्टहरुः