हवाई फायर गरी आधुनिक हतियारसहित दुई जना पक्राउ

1200x150_1200x150-01.jpg (1)

पर्सा , कार्तिक २८ –

मकवानपुरमा सशस्त्र प्रहरी बलको विशेष टोलीले हवाई फायर गरी आधुनिक हतियारसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

आज शनिबार बिहान हेटौंडा उपमहानगरपालिका–१ स्थित तिरतिरे धारानजिक शंकास्पद अटो रिक्सा जाँच गर्ने क्रममा प्रहरीले एक राउन्ड हवाई फायर गरेको हो।

अवैध सामान ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी नायब उपरीक्षक सुवर्ण थापाको कमान्डमा खटिएको टोलीले ना.प्र. ०३-००१ ह ११८१ नम्बरको अटो रोक्न खोज्दा त्यसमा सवार एक व्यक्तिले सुरक्षाकर्मीमाथि फायर गर्न खोजेपछि आत्मरक्षाका लागि हवाई फायर गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ नयाँबस्तीका आमिर भन्ने सुनबहादुर तामाङ र अटो चालक विश्वराज मोक्तान रहेका छन्।

उनीहरूको साथबाट ७.६५ एमएमको सेमी अटोमेटिक पेस्तोल, एक राउन्ड गोली, एक थान म्यागजिन र तीन थान एन्ड्रोइड मोबाइल बरामद गरिएको छ। प्रहरीले अटो रिक्सा पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः