छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै

1200x150_1200x150-01.jpg (1)

वीरगंज , कार्तिक २९ –

चार दिवसीय छठ पर्वअन्तर्गत आज मुख्य दिन व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदैछन्। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्वमा साँझ अस्ताउँदो सूर्य र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने परम्परा छ। सूर्यदेव र छठी माताको आराधना गरिने यस पर्वमा व्रतालुहरूले सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा परिवारको कल्याणको कामना गर्ने गर्छन्।

छठ पर्वमा अस्ताउँदो सूर्यलाई समेत उत्तिकै महत्वका साथ पूजा गर्ने परम्परा रहेको छ। वैदिक कालदेखि नै सूर्यलाई प्रमुख देवताका रूपमा पूजा गरिँदै आएको पाइन्छ। मानव जीवनलाई उज्यालो र ऊर्जा प्रदान गर्ने, पृथ्वीमा ताप उत्पन्न गर्ने तथा वनस्पति र कृषि उत्पादनका लागि आवश्यक प्रकाश दिने भएकाले सूर्यलाई जीवनको आधारका रूपमा लिने गरिएको छ।

संस्कृतिविद्हरूका अनुसार छठ पर्वमा अस्ताउँदो र उदाउँदो दुवै सूर्यको पूजा गर्नुको आफ्नै सांस्कृतिक तथा धार्मिक महत्व छ।

दिनभरि प्रकाश र ताप प्रदान गर्ने सूर्यप्रति कृतज्ञता व्यक्त गर्दै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र भोलिपल्ट पुनः नयाँ ऊर्जाका साथ उदाउने सूर्यको उपासना गर्ने परम्परा रहेको छ। यसले जीवनमा आरम्भ र अन्त्य दुवैको समान महत्व रहेको सन्देश दिने उनीहरूको धारणा छ।

संस्कृतिविद् उमेशकुमार झाका अनुसार किसानहरूले आफ्नो खेतबारीमा उत्पादन गरेका नयाँ कृषि उपज सूर्यलाई अर्पण गरेर कृतज्ञता व्यक्त गर्ने परम्परा छ। सूर्यको प्रकाशबिना खेतीपाती सम्भव नहुने भएकाले किसानका लागि सूर्यको प्रकाश वरदानसरह मानिन्छ। त्यसैले छठ पूजामा आफ्नै खेतबारीमा उत्पादित फलफूल तथा कृषि उपज चढाउने चलन रहेको छ।

मैथिली भाषाका सहप्राध्यापक उमेशकुमार झाका अनुसार उदाउँदो सूर्यलाई सिर्जनात्मकता र अस्ताउँदो सूर्यलाई प्रतीकात्मकतासँग जोडेर हेर्ने गरिन्छ। दुवै अवस्थाका सूर्यको पूजा गर्ने परम्पराले छठ पर्वको धार्मिक तथा सांस्कृतिक महत्वलाई थप विशिष्ट बनाएको छ।

छठ पर्वमा जलाशयको पनि विशेष महत्व रहेको छ। पोखरी, तलाउ, नदी तथा सरोवरको किनारमा व्रतालुहरू पानीमा उभिएर सूर्यलाई अर्घ्य दिने गर्छन्। सूर्यास्तको समयमा व्रतालुहरू जलाशयमा प्रवेश गरी पूजा सामग्रीसहित सूर्यको आराधना गर्छन्। जल र सूर्यबीचको सम्बन्धलाई यस पर्वले विशेष रूपमा प्रस्तुत गरेको संस्कृतिविद्हरू बताउँछन्।

घरदेखि घाटसम्म उल्लास

छठ पर्वको मुख्य दिन व्रतालु तथा परिवारका सदस्यहरू बिहानैदेखि पूजाको तयारीमा जुटेका छन्। घरआँगन लिपपोत गरी चोख्याउने, पूजा सामग्री तयार पार्ने तथा बाँसबाट बनेका नाङ्लो, ढाकी र सुपमा प्रसाद सजाउने गरिन्छ।

पूजा सामग्रीमा ठेकुवा, भुसुवा, नरिवल, केरा, उखु, स्याउ, सुन्तलालगायतका फलफूल तथा विभिन्न कृषि उपज राख्ने परम्परा छ। प्रसादले भरिएका ढाकी र सुपलाई विशेष सावधानीका साथ घाटसम्म पुर्‍याइन्छ। नयाँ तथा सफा पहिरनमा सजिएका व्रतालु र परिवारका सदस्यहरू छठी माताको गीत गाउँदै घाटतर्फ जाने गर्छन्।

साँझको अर्घ्यका लागि जलाशय तथा घाटहरूलाई विशेष रूपमा सजाइन्छ। व्रतालुहरू परिवारका सदस्यसहित घाटमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै सन्तानको दीर्घायु, परिवारको सुख, शान्ति, समृद्धि र मनोकामना पूरा होस् भन्ने कामना गर्छन्।

छठ पर्वका अवसरमा विवाहित छोरीचेली माइत आउने तथा टाढा रहेका आफन्त र इष्टमित्रलाई समेत निमन्त्रणा गर्ने परम्परा छ। यसले परिवार तथा आफन्तबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने गरेको छ। करिब ३६ घण्टासम्म निर्जला व्रत बस्ने व्रतालुहरूले भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि प्रसाद ग्रहण गरी व्रत समापन गर्नेछन्।

 

भर्खरै

सम्बन्धित पोस्टहरुः