वीरगंज, मंसिर १ –
पर्साको पकहामैनपुर गाउँपालिका–२ स्थित वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन्। सेवा प्रवाहमा ढिलासुस्ती, लापरबाही तथा आर्थिक अनियमितता भएको आरोप लगाउँदै स्थानीयवासीले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।
स्थानीयवासीका अनुसार वडा कार्यालयबाट सामान्य सेवासमेत समयमा उपलब्ध हुन सकेको छैन। पटक–पटक कार्यालय धाउँदा पनि काम नहुने र सेवाग्राहीले अनावश्यक झन्झट बेहोर्नुपरेको उनीहरूको गुनासो छ।
त्यस्तै, वडा अध्यक्ष मुकुटप्रसाद चौहानमाथि वडा कार्यालयको आय–व्यय विवरण सार्वजनिक नगरेको तथा पोखरीको ठेक्का र मर्मतसम्भारमा अनियमितता गरेको आरोप स्थानीयवासीले लगाएका छन्। वडा अध्यक्षले आफ्ना निकटस्थ व्यक्तिलाई पोखरीको ठेक्का दिएको र मर्मतका नाममा पटक–पटक बजेट खर्च गरेको उनीहरूको दाबी छ।
स्थानीयवासीले पोखरीको ठेक्का प्रक्रिया र मर्मतसम्भारमा भएको खर्चको निष्पक्ष छानबिन गर्न, सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गर्न तथा वडा कार्यालयको सेवा प्रवाह सुधार गर्न माग गरेका छन्।







