जनकपुर–अयोध्या रेल सेवा: भारतका यी १० विश्रामस्थान

1200x150_1200x150-01.jpg (1)

जनकपुरधाम । नेपालको जनकपुरधाम र भारतको अयोध्याबीच सिधा रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल्वेले जनकपुरधामदेखि उत्तर प्रदेशको अयोध्यासम्म ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ ।

भारतको रेल मन्त्रालयले गत नोभेम्बर १४ (मंसिर २८) गते यस रेल सेवाबारे औपचारिक जानकारी सार्वजनिक गरेको हो । रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई रेलमार्गबाट जोड्ने उद्देश्यसहित यो सेवा अघि बढाइएको भारतीय पक्षले जनाएको छ ।

प्रस्तावित रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ । जनकपुरधामबाट प्रत्येक शनिबार रेल छुट्नेछ भने भारतको अयोध्या क्यान्टबाट प्रत्येक सोमबार जनकपुरधामका लागि रेल प्रस्थान गर्नेछ ।

भारतका १० स्थानमा रोकिने

जनकपुरधामदेखि अयोध्यासम्मको यात्रामा रेलले भारतका बिहार र उत्तर प्रदेशका विभिन्न स्थानमा व्यावसायिक ठहराव गर्नेछ ।

रेल मन्त्रालयका अनुसार रेलका १० व्यावसायिक ठहराव निम्न स्थानमा रहनेछन् ।

जयनगर

मधुबनी

शीशो

सीतामढी

रक्सौल

नरकटियागञ्ज

गोरखपुर

बस्ती

मनकापुर

अयोध्या धाम

यीमध्ये बिहारका ६ र उत्तर प्रदेशका ४ स्थानमा रेल रोकिनेछ । यसबाहेक जनकपुरधाम र अयोध्या क्यान्ट अन्तिम गन्तव्य स्टेशनका रूपमा रहनेछन् ।

मंसिर ७ गतेदेखि सञ्चालनको तयारी ?

भारतीय सञ्चारमाध्यमका अनुसार आगामी नोभेम्बर २३ (मंसिर ७) गते रेल सेवाको उद्घाटन गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा रेल सेवाको उद्घाटन गर्न सक्ने समाचारहरू सार्वजनिक भएका छन् ।

प्रधानमन्त्री शाहको भारत भ्रमणसँगै रेल सेवाको उद्घाटनलाई जोडेर हेरिएको छ । यद्यपि भारतीय रेल मन्त्रालयको औपचारिक विज्ञप्तिमा व्यावसायिक सञ्चालन सुरु हुने मिति, रेलको विस्तृत समयतालिका र भाडादर भने सार्वजनिक गरिएको छैन ।

धार्मिक पर्यटनसँगै व्यापारमा पनि लाभ

जनकपुरधामलाई माता सीताको जन्मस्थल र अयोध्यालाई भगवान् श्रीरामको जन्मस्थलका रूपमा चिनिन्छ । यी दुई धार्मिकस्थललाई सिधा रेल सेवाले जोड्दा नेपाल र भारतबीच धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यसबाट जनकपुरधाम आउने भारतीय तीर्थयात्री तथा अयोध्या जाने नेपाली यात्रुलाई सहज हुनेछ । साथै शिक्षा, व्यापार, पारिवारिक भेटघाट र सीमापार आवागमन गर्ने यात्रुलाई समेत थप सुविधा पुग्ने भारतीय रेल मन्त्रालयको भनाइ छ ।

रेल सेवाले मार्गमा पर्ने बिहार र उत्तर प्रदेशका स्थानीय बजार, होटल व्यवसाय, पर्यटन व्यवसायी तथा परम्परागत हस्तकलासँग सम्बन्धित व्यवसायलाई समेत लाभ पुग्ने अपेक्षा गरिएको छ ।

भर्खरै

सम्बन्धित पोस्टहरुः