काठमाडौँ । ललितपुरको नख्खुबाट प्रहरीले स्रोत नखुलेको १ करोड ६७ लाख रुपैयाँ नगदसहित तीन जनालाई पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–२ स्थित नख्खुमा मंगलबार दिउँसो उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त रकम बरामद गरेको हो। बागमती प्रदेश–०१–०२७ च २७६५ नम्बरको भ्यानमा नगद बोकेर हिँडिरहेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौँको बानेश्वरका प्रज्वल रिजाल रहेका छन्।
प्रहरीका अनुसार पक्राउ परेका तीनै जना पशुपतिनाथ पराग सप्लायर्समा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उक्त कम्पनीका सञ्चालक भगवान शाह रहेको बताइएको छ।
बरामद रकमको वैधानिक स्रोतबारे पक्राउ परेकाहरूले स्पष्ट पार्न नसकेको प्रहरीको भनाइ छ। नगदको स्रोत, कारोबारको प्रकृति तथा यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।






