वीरगंजमा भारत–नेपाल आर्थिक सहकार्य मञ्च सम्पन्न

1200x150_1200x150-01.jpg (1)

वीरगंज , मंसिर ३ –

नेपाल र भारतबीचको आर्थिक तथा व्यापारिक सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आयोजित ‘भारत–नेपाल आर्थिक सहकार्य मञ्च २०२६’ वीरगंजमा सम्पन्न भएको छ।

नेपाल युवा उद्यमी मञ्च (NYEF) वीरगंज च्याप्टर र भारतको पीएचडी चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री (PHDCCI) अन्तर्गतको इन्डिया–नेपाल सेन्टरको सहकार्यमा होटल सरोवर पोर्टिकोमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा उद्योग, व्यापार, बैंकिङ, लजिस्टिक्स र आतिथ्य क्षेत्रका ३७ जना प्रतिनिधिको सहभागिता थियो।

कार्यक्रममा सीमापार व्यापारका समस्या, गैरभन्सार अवरोध, अनौपचारिक व्यापार, निर्यातमा देखिएका चुनौती तथा दुई देशबीचको आर्थिक साझेदारीका विषयमा छलफल भएको थियो। सहभागी उद्योगी तथा व्यवसायीले व्यापारिक प्रक्रिया सहज बनाउन डिजिटल प्रणालीको विकास र भन्सार प्रक्रियामा एकरूपता कायम गर्नुपर्ने सुझाव दिएका थिए।

कार्यक्रमका प्रमुख अतिथि भारतका वीरगंजस्थित महावाणिज्यदूत देवी सहाय मीनाले नेपाल–भारत व्यापार निरन्तर बढिरहेको उल्लेख गर्दै आर्थिक सहकार्यलाई थप प्रभावकारी बनाउन यस्ता संवादलाई निरन्तरता दिनुपर्ने बताएका छन्।

त्यस्तै, वीरगंज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपालले नेपाली निर्यातमा देखिएका गैरभन्सार अवरोध र अनौपचारिक व्यापार नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन्। नेपाल औषधि उत्पादक संघका वरिष्ठ उपाध्यक्ष प्रभात रुंगटाले भारतको चिनी निर्यातसम्बन्धी नीतिले नेपाली औषधि उद्योगमा पार्न सक्ने प्रभाव र दुवै देशमा एचएस कोडमा एकरूपताको आवश्यकता औँल्याएका छन्।

कार्यक्रममा उठेका सुझाव सम्बन्धित निकायसम्म पुर्‍याउने PHDCCI इन्डिया–नेपाल सेन्टरका वरिष्ठ सचिव अतुल के. ठाकुरले प्रतिबद्धता जनाएका छन्। आयोजकले यस मञ्चले सीमापार व्यापारका समस्या समाधान र दुई देशबीचको आर्थिक सम्बन्ध थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः