पर्सा , मङ्सिर ३-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याइएको १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन्। मंगलबार बिहान करिब १ः२५ बजे हङकङबाट नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० मार्फत काठमाडौं आएका वाङलाई शंकास्पद गतिविधिका आधारमा जाँच गरिएको थियो।
जाँचका क्रममा उनको मलद्वारभित्र प्लास्टिकले बेरेर लुकाइएका चारवटा गोलाकार टुक्रा फेला परेका थिए। भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा पदार्थ बरामद भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीले बरामद पदार्थसहित वाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाएको छ।






