वीरगञ्ज, ३ मंसिर – उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले आपराधिक उपद्रव र डाँका सम्बन्धी कसूरमा पुर्पक्षका लागि थुनामा रहेका दुई जना प्रतिवादीलाई जनही २ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
माननीय न्यायाधीशद्वय महेन्द्रनाथ उपाध्याय र शंकर खत्रीको संयुक्त इजलास (इजलास नं. १) ले पर्सा जिल्ला अदालतको थुनछेक आदेश बदर गर्दै प्रतिवादीद्वय म. अबु अयुब हुसेन र रंजन सिंह राजपुत भनिने रंजन कुमार सिंहलाई धरौटीमा छाड्न आदेश दिएको हो ।
जाहेरी दरखास्तमा प्रतिवादी हुसेनसमेतका २०–२५ जनाको समूहले घर कम्पाउण्डभित्र प्रवेश गरी बहुमूल्य सामान लुटपाट तथा फर्निचर तोडफोड गरेको र राजपुतले बाहिरबाट मानिसहरूलाई उक्साउँदै घर जलाउन पेट्रोल बम प्रहार गरेको आरोप लगाइएको थियो ।
यद्यपि, अदालतमा बयानका क्रममा दुवै प्रतिवादीले आरोपित कसूरमा इन्कार गरेका थिए । घटनास्थल मुचुल्का, लुटपाट तथा डाँका चोरी भएको भनिएको सामान निजहरूको साथबाट बरामद नभएको र जिल्ला प्रहरी कार्यालय पर्साको पत्रमा पेश भएको सीसीटीभी फुटेज तथा फोटोबाट समेत प्रतिवादी राजपुतको संलग्नता स्पष्ट नदेखिएको भन्दै उच्च अदालतले उनीहरूलाई थुनामै राख्नुपर्ने अवस्था विद्यमान नरहेको ठहर गरेको छ ।
सोही आधारमा उच्च अदालतले पर्सा जिल्ला अदालतबाट मिति २०८३/३/४ मा हुसेनको हकमा र मिति २०८३/६/१९ मा राजपुतको हकमा भएको पुर्पक्षका लागि थुनामा राख्ने आदेश रीतपूर्वकको नदेखिँदा बदर गरिदिएको छ । अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ बमोजिम दुवै प्रतिवादीसँग जनही नगद धरौट रु. २,००,०००।– (दुई लाख रुपैयाँ) वा सो बराबरको बैंक जमानत लिई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।
यसै मुद्दाका अर्का प्रतिवादी लियाकती अली भनिने लियाकत अलीको हकमा भने पर्सा जिल्ला अदालतबाट मिति २०८३/४/१७ मा धरौटी जमानत माग गर्ने गरी भएको आदेश बेरीतको नदेखिएकाले सोही आदेशलाई सदर गरिएको उच्च अदालतले जनाएको छ ।
उक्त मुद्दामा निवेदक प्रतिवादीहरूको तर्फबाट अधिवक्ताहरू दीनानाथ प्रसाद, शिवबहादुर कोइराला, सुधिर कुमार कर्ण, कृष्णचन्द्र लामिछाने, अन्जनी कुमार नविन, औरन्जेव अहमद र आकाश महतोले बहस गरेका थिए । यस्तै, वादी नेपाल सरकारको तर्फबाट उच्च सरकारी वकिल कार्यालय वीरगञ्जका सहायक न्यायाधिवक्ता रविशंकर चौधरी र जाहेरवालाको तर्फबाट अधिवक्ताद्वय कमलमोहन पोखरेल र प्रमोद प्रसादले बहस पैरवी गरेका थिए ।






