पर्सा , मंसिर ३ –
चीनमा आयोजित अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पदक जित्न सफल वीरगंजका तीन खेलाडीलाई वीरगंज महानगरपालिकाले सम्मान गरेको छ।
चीनको सान्या सहरमा गत सेप्टेम्बर २६ र २७ तारिखमा सम्पन्न हेनान जिङ्लोङ युथ ओपन तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण र काश्य पदक जित्ने खेलाडीलाई महानगरपालिकाले सम्मान गरेको हो।
प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएका १८ खेलाडीमध्ये वीरगंजबाट गएका तीनै जनाले पदक जितेका थिए। प्रतियोगितामा २४ देशका खेलाडी सहभागी थिए। अवन्तिका झाले आफ्नो तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् भने सान्वी शर्मा र अवन्सिका गुप्ताले काश्य पदक हासिल गरेका थिए।
प्रशिक्षक दिपेश मानन्धरका अनुसार वीरगंजबाट प्रतियोगितामा सहभागी तीनै खेलाडीले पदक जित्न सफल भएका हुन्।
सम्मान कार्यक्रममा महानगर प्रमुख राजेशमान सिंहले खेलाडीहरूलाई सम्मान गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर वीरगंजको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन सफल भएकोमा खुसी व्यक्त गरेका छन्। उनले खेलाडीहरूको मेहनत, लगनशीलता र प्रतिभाको प्रशंसा गर्दै उनीहरूको सफलताले नगरको खेलकुद क्षेत्रको गौरव बढाएको बताएका छन्।
प्रमुख सिंहले खेलकुद क्षेत्रको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि महानगरपालिका सधैँ सहयोग गर्न तयार रहेको पनि बताएका छन्। खेलाडीलाई आवश्यक प्रोत्साहन र अवसर प्रदान गर्दै खेलकुद क्षेत्रलाई थप व्यवस्थित र सशक्त बनाउन आगामी दिनमा पनि सहयोग गर्ने उनको भनाइ छ।







