बारा , मङ्सिर ६ –
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको आरोपमा बाराका एक शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुवर्ण गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्रप्रसाद यादवविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको देखिने इन्टरमिडिएट तह (आईए) को नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेका थिए।
उक्त प्रमाणपत्रका आधारमा प्राथमिक तहको शिक्षक पदमा नियुक्त भई राष्ट्रसेवकका रूपमा पद, ओहोदा तथा विभिन्न सुविधा लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।
यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद तथा जरिवानाको सजाय माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।







