सुनसरी , मङ्सिर ६ –
सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलोग्राम गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी बरामद गरेको छ। घटनामा संलग्न रहेको आरोपमा चालकलाई समेत पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार राति ११ः३० बजे संयुक्त प्रहरी टोलीले सेउती पुलमा सवारीसाधन जाँच गर्ने क्रममा भारतको बीआर ११ वाई ३०३९ नम्बर प्लेटको स्कार्पियोबाट गाँजाजस्तो देखिने पदार्थ बरामद गरेको हो।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी ३२ वर्षीय अजयकुमार साह रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार बरामद गाँजा र स्कार्पियोसहित चालक साहमाथि थप अनुसन्धान भइरहेको छ।







