मोदीसँगको वार्तामा लिपुलेकको मुद्दा उठेन, सीमा विवादमा नेपाल मौन

1200x150_1200x150-01.jpg (1)

काठमाडौं, मंसिर ८ –

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल–भारतबीच लामो समयदेखि विवादित रहँदै आएको सीमा समस्याले प्राथमिकता पाउन सकेन। नेपालको दाबी रहँदै आएको कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रधानमन्त्रीस्तरीय वार्तामा छलफल नभएको भारतीय पक्षले जनाएको छ।

सोमबार नयाँ दिल्लीमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि जारी संयुक्त विज्ञप्तिमा सीमा समस्याका बाँकी विषयमा काम गर्न दुवै देशका परराष्ट्र सचिवलाई निर्देशन दिइएको उल्लेख छ। तर, विवादित क्षेत्रहरूको नाम भने विज्ञप्तिमा समावेश गरिएको छैन।

भारतीय विदेश सचिव विक्रम मिश्रीले पत्रकार सम्मेलनमा लिपुलेकको विषय वार्तामा नउठेको स्पष्ट पारेका छन्। भारत र चीनबीच लिपुलेक नाकाबाट व्यापार सञ्चालनबारे समेत छलफल नभएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले यसअघि काठमाडौं महानगरपालिकाको प्रमुख रहँदा लिपुलेक नेपालको भूमि भएको भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीनसँगको वार्तामा नेपालको अडान स्पष्ट राख्न आग्रह गरेका थिए। तर, अहिले प्रधानमन्त्रीकै हैसियतमा भारत भ्रमण गर्दा उक्त विषय वार्तामा प्रवेश गर्न नसकेको भन्दै प्रश्न उठेको छ।

नेपालले सन् २०२० मा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको थियो। भारतले भने ती क्षेत्र आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ।

दुवै देशले जारी गरेको ‘विकसित भारत र समुन्नत नेपाल’ संयुक्त दृष्टिपत्रमा सीमा विवादलगायतका बाँकी विषय आपसी संवादबाट समाधान गर्ने प्रतिबद्धता जनाए पनि त्यसका लागि ठोस कार्यतालिका सार्वजनिक गरिएको छैन।

सम्बन्धित पोस्टहरुः