तपाइँलाई हिम्मत छ ? मसंग एउटा सेल्फी लिएर फेसबुकमा पोष्ट गर्न ?

1200x150_1200x150-01.jpg (1)

वीरगंज, जेठ २२

पर्सा जिल्लाको एका गाउँमा घर भएका २७ वर्षीय सुमन (परिवर्तित नाम) आजभोलि आफुलाई कोठामा थुनेर बस्छन्, निराश छन् र आफुलाई बुझ्ने व्यक्तिको खोजी गरिरहेका छन्। पढेलेखेका सुमनलाई समाजले नबुझ्दा उनी एक्लो र निराशाजनक जीवन बाँचिरहेका छन्। उनी तेस्रोलिंगी हुन्। उनै सुमनसँग (नाम परिवर्तित) भेटेर उनका भोगाइका बारेमा हाम्रा संवाददाताले कुराकानी गरेका छन्। सुमन हामीसँग कुराकानी गर्न तयार थिएनन् तर उनको गोपनीयतालाई शतप्रतिशत गोप्य राख्ने विश्वास दिलाएपछि उनी कुरा गर्न तयार भए।

सुरुमा हामीले अहिलेसम्मको तपाइँको भोगाइ कस्तो छ भनेर सोधेका थियौँ।

सुमन भन्छन्, “ठिकै छ, समाजको तिखा प्रहारको बीचमा बाँचिरहेको छु, बाहिर हेरे जस्तो छैन, शब्द रूपी तिखो बाणको प्रहारबाट प्रत्येक दिन मारिएर पनि बाँच्ने प्रयासमा छु।”

अनि घरका मानिसहरूले सहयोग र साथ त होलान् नि ?

“सोचे जतिको छैन, घरकै व्यक्तिहरूले सबैभन्दा पहिले मजाकको पात्र बनाए अनि पछि सबजनाको मजाक बनेँ म, घर, आफन्त, समाज, साथी सबै उस्तै लाग्छन्, अहिले आफ्नो छैन कोही जस्तो लाग्छ, दुःख छ हाहा…”

कहिले थाहा भयो कि तपाइँ फरक लिङ्गको हुनुहुन्छ ?

“म कक्षा ९ मा पढ्दै थिएँ अनि त्यो बेला बोध भयो तर त्यो भन्दा अगाडि पनि म केटीहरूसँग रमाउने, उनीहरूलाई साथी बनाउने, उनीहरूसँग बस्न मन पराउने गर्थें। विद्यालयका केटाहरू बेला बेलामा जिस्काइरहन्थे तर म को हुँ भन्ने थाहा थिएन। म पनि केटा नै तर किन यस्तो भन्छन् भनेर कहिलेकाहीँ मनमा प्रश्न आउँथ्यो। शिक्षकहरूले पनि कहिलेकाहीँ जिस्काउनु हुन्थ्यो।”

कसैले पहिलो पटक तेस्रोलिंगी भनेपछि तपाइँको प्रतिक्रिया कस्तो रह्यो ?

“जब म कक्षा १० उत्तीर्ण गरेँ अनि बिदाको बेला एक जना साथीको घरमा गएको थिएँ । उनका आमाले कस्तो साथी छ तेरो, बोलि, हिडाइ र शरीरको हाउभाउ त तेस्रोलिंगी जस्तो छ भनेको मैले सुनेँ। अत्यन्त दुःख लाग्यो र म बहाना बनाएर उनको घरबाट आएँ अनि खुब रोएँ। म आफैँलाई सोधेँ मेरो के गल्ती छ ? मेरो बोलि, हिडाइ वा शारीरिक हाउभाउ मैले त बनाएको होइन, भगवानले नै यस्तो बनाएको हो। भगवानसँग प्रश्न पनि गरेँ किन यस्तो मलाई बनाएको भगवान ? तर उत्तर पाएनँ ।”

परिवारमा सबैभन्दा पहिला कसलाई भन्नु फरक लिङ्गको छु भनेर ?

“भन्ने मौका नै पाएनँ, मैले भन्नुभन्दा पहिल्यै उनीहरूले भनिसकेका थिए। बाल्यकालदेखि नै घरपरिवार र छिमेकीहरूले मलाई विभिन्न उपमा दिइसकेका थिए। केटा भएर पनि केटी जस्तो बोल्छ, केटी जस्तो हिँड्छ, केटीहरू जस्तो व्यवहार गर्छ भनेर उनीहरूले पहिलेदेखि नै भन्ने गर्थे। अहिले बुझिरहेछु उनीहरूले किन त्यसो भन्दै थिए हाहाहा… हासो पनि आउँछ तर आफैँलाई नराम्रो टिप्पणी हुँदा रुन पनि मन लाग्छ।”

आफैँलाई स्वीकार्न कति समय लाग्यो ?

“१२ पास भएपछि म आफैँलाई स्वीकारेँ कि म फरक लिङ्गको हुँ भनेर। यो बीचमा म आफैँलाई बदल्न अथक प्रयास गरेँ तर सकेनँ। कक्षा ११ मा पढ्दा एकदम प्रयास गरेको थिएँ आफैँलाई बदल्न, धेरै प्रयास गरेँ तर सकिएन। अनि बुझेँ भगवानले यस्तै बनाएका छन्। अनि स्वीकारेँ तर बडो कठिन हुँदोरहेछ। केटा तर भित्रि मन केटीको छ, अब बताउनुस् सर कस्तो गाह्रो भएको होला मलाई। सानै उमेरमा समाजको तिखो शब्दबाट घोचिएर बाँच्नु पर्छ भनेर सोचेको थिइनँ। मैले त आफैँलाई स्वीकारेँ तर मलाई समाजले कहिले स्वीकार्छ ? यो प्रश्न छ मेरो।”

अनि कक्षा १२ पास भएपछि पढ्न मन लागेन ?

“पढ्न त अहिले पनि मन छ, म पढाइमा तेज पनि थिएँ तर वातावरण छैन म अनुकूलको। साथीहरू जिस्काउँछन्, मेरो बोलि, हिडाइ र शारीरिक हाउभाउले गलत जज गर्छन्। त्यही भएर पढाइलाई अगाडि बढाउन चाहिनँ।”

पढेर के गर्न इच्छा थियो र अब के लक्ष्य छ ?

“मेरो सपना थियो बैंकमा काम गर्न र आमाबाबुको सपना थियो डाक्टर बनाउन तर सायद अब त्यो पूरा हुँदैन होला। म अभागी नै हुँ कहिलेकाहीँ लाग्छ। बाहिरबाट हेर्नु त गोरो छु, पढाइमा पनि राम्रो तर भित्र मन अर्कै छ हाहाहा… अब एउटै लक्ष्य छ, जुन हो बाँच्ने लक्ष्य, त्यसैलाई भेटाउन प्रयास गर्दै छु।”

त्यसो भए दैनिक कस्तो छ तपाइँको ?

“एकदम नराम्रो। दिनमा म बजार जान सक्दिनँ, बाहिर हिँड्न सक्दिनँ, खुलेर कसैसँग बोल्न सक्दिनँ। बाहिर जहिले पनि मास्क लगाएर जाने गर्छु। कति सास्ती छ मलाई यो समाजको कारणले मात्रै। म को हुँ ? केटा भन्छन् केटी जस्तो व्यवहार छ, केटीहरू भन्छन् केटा भएर पनि केटीको जस्तो हाउभाउ छ। कैदी जस्तो छ मेरो जीवन।”

तपाइँ त पढेलेखेका हुनुहुन्छ, समाजमा परिवर्तन ल्याउन सक्नुहुन्न ?

“सर, पढेलेखेकाहरूले नै बढी प्रताडित गर्छन्, नराम्रो शब्द भन्छन्, जिस्काउँछन्, एकदम नराम्रो अफर गर्छन् । अब भन्नु म एक्लै के गर्न सक्छु ? उनीहरू आफैँ परिवर्तन हुनुपर्छ।”

समाजमा अहिले त परिवर्तन भएको जस्तो छ नि ?

“के परिवर्तन भएको छ सर ? नेताहरू भाषण गर्छन् तर व्यवहारमा लागु गर्दैनन्। के म यो समाजको होइन ? म पनि नेपाली नागरिक होइन ? किन भेदभाव ? म पनि अन्य मानिसहरू जस्तै बाँच्न चाहन्छु।”

अन्तिम प्रश्न, सरोकारवालासँग के भन्नुहुन्छ ?

“म के भन्ने ! मलाई धेरै थाहा पनि छैन नीति नियमको। तपाइँले बोलाउनुभयो म आएँ। लेखेर वा समाचारमा भनेर केहि हुन्छ जस्तो मलाई लाग्दैन । व्यक्तिले आफ्नो सोच र व्यवहारमा बदलाव ल्याउनुपर्छ । हाम्रो जस्तो फरक क्षमताका व्यक्तिको अधिकारका लागि साथ दिनुपर्छ ।”

“एउटा कुरा, तपाइँ अन्यथा नलिनुहोला, तपाइँ त यत्रो लामो कुरा गर्नुभयो तर मसंग एउटा सेल्फी लिएर फेसबुकमा पोष्ट गर्न तपाइँलाई हिम्मत छ ? छैन । गर्न सक्नुहुन्न । मसंग बजारमा हिड्न सक्नुहुन्छ , आफ्ना साथीहरुलाई म तपाइँको चिनजानका हुँ भन्न सक्नु हुन्छ ? सक्नुहुन्न हुदैन यहि सत्यता हो तर पत्रिकामा ठूलाठूला कुरा लेख्नुहुन्छ । सबैजना यस्तै गर्छन ।”

सुमन हामीसँग विदा भए। उनले बिदा हुनुभन्दा अगाडि पटक–पटक आफ्नो गोपनीयताको ख्याल राखिदिन आग्रह गरिरहे । उनका धेरै प्रश्न थिए जसको हामीले उत्तर दिन सकेनौँ र सुनेर मौन रह्यौँ । कुरा गर्दागर्दै सुमन कहिले भावुक, कहिले हाँसिरहेका थिए ।

सुमन समाजसँग बाँच्ने अधिकार मागिरहेका छन्। अरू जस्तै खुलेर बोल्न, हिँड्न, पढ्न र काम गर्न उनको पनि इच्छा छ। आफ्ना धेरै सपना बोकेका उनी अब एउटै लक्ष्यमा बाँच्न चाहन्छन्। सुमन त एक उदाहरण पात्र मात्र हुन्। यस्ता धेरै सुमनहरू छन् जसले समाजको रुढीवादी र परम्परागत सोचका कारण निसास्सिएर बाँचिरहेका छन् । उनीहरूलाई समाजको साथ चाहिएको छ, राम्रो व्यवहार चाहिएको छ, सरोकारवालाको हात चाहिएको छ ।

सम्बन्धित पोस्टहरुः