फेवातालमा कार खस्दा दुई भारतीयको मृत्यु

1200x150_1200x150-01.jpg (1)

पोखरा, १९ भदौं । पोखरा महानगरपालिका–१८ गैरीचौतारा घुम्तीबाट भारतीय नम्बरको कार फेवातालमा खस्दा दुई जनाको भारतीयको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन। शुक्रवार बिहान ४ः५० बजे सेतीबाट लेकसाइड आउँदै गरेको बीआर ०५ बी बी ६७५९ नम्बर को कार सडकबाट करिब २० मिटर तल फेवातालमा खसेको प्रहरीले जनाएको छ।

प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा १५ जना प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल नंबर २४ हेडक्वाटर कालिका गण कास्कीबाट १३ जनाको टोली उद्धारका लागि परिचालन भएको थियो ।

उद्धारका क्रममा कारमा सवार भारतको बिहार राज्यको रक्सौल घर बताउने २७ वर्षीय अनमोल कुमार यादव र ३३ वर्षीय सुरज यादवलाई जीवितै उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ। दुवैको अवस्था मध्यम रहेको र बोल्न सक्ने अवस्थामा रहेको बताइएको छ।
त्यसैगरी बिहान ५ः५५ बजे फेवातालको पानीभित्रबाट अचेत अवस्थामा दुई जनालाई उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। चिकित्सकले बिहान ६ः२१ बजे ती दुवै जनालाई मृत घोषणा गरेका हुन।

मृत्यु हुनेमा भारतको बिहार राज्यको रक्सौल घर भएका २६ वर्षीय नवदीप कुमार यादव र करिब ४०–४५ वर्षीय एक पुरूष रहेका छन। दोस्रो मृतकको नाम खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। क्रेनको सहयोगमा बिहान ६ः२० बजे कारलाई फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा ल्याइएको छ। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः