वीरगंज, असार १६ —
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर ७ रुपैयाँ, डिजेल/मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर ७० रुपैयाँ मूल्य घटाइएको हो।
नयाँ मूल्य असार आज मध्यराति १२ बजेदेखि लागू हुनेछ। अब पहिलो वर्गअन्तर्गत पर्ने वीरगंज, अमलेखगञ्ज, जनकपुरलगायतका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा र डिजेल/मट्टितेल प्रतिलिटर १९२ रुपैयाँ ५० पैसामा बिक्री हुनेछ।
निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गरिएको जनाएको छ। हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर ४० रुपैयाँ तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ३१ अमेरिकी डलरसम्म घटाइएको निगमले जनाएको छ।







