चितवन , असोज ३ –
चितवन राष्ट्रिय निकुञ्जमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ करेन्ट लागेर मरेको पुष्टि भएको छ।
बिहान बिसहजारी ताल नजिकै कुमाल तालको छेउमा मृत भेटिएको रोनाल्डोलाई नेपाली सेनाको ब्यारेकतर्फ लगिएको विद्युत् तारबाट करेन्ट लागेको बताइएको छ। घाँससँगै तार तानेर चपाउँदा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको स्रोतको भनाइ छ।
रोनाल्डोको मुख र जिब्रोमा डढेको देखिएको छ। ५३ वर्षीय रोनाल्डो करिब २४ वर्षदेखि निकुञ्ज क्षेत्रमा देखिँदै आएको र ३८ वटा छावाको बाबु रहेको निकुञ्जले जनाएको छ।
रोनाल्डोको मृत शरीर पोस्टमार्टमपछि गाड्ने तयारी भइरहेको छ। निकुञ्जमा रहेका पोथी हात्तीको प्रजननका लागि अब ‘गोविन्दे’ र ‘ध्रुवे’ मात्र बाँकी रहेका छन्।






