वीरगंज, ३ असोज । जनता समाजवादी पार्टी (जसपा)नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस राज्य बनाउन पुनः आन्दोलन गर्नुपर्ने बताएका छन् ।
शनिवारदेखि वीरगंजमा आयोजित ९ दलीय अग्र्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आन्दोलन गर्न आहवान गरेका हुन् ।
अहिलेको आठ जिल्लाको मधेस प्रदेशमा शासन र प्रशासनमा मधेस बाहिरका मान्छेहरूको कब्जा रहेकाले अब मधेसी जनतालाई मधेस राज्य चाहिएकोे उनले बताए । यादवले भने, ‘अहिले भएको जस्तो मधेस प्रदेश हामीले खोेजेकै होइन । किनकि मधेस प्रदेश भएपनि यो प्रदेशमा शासन र प्रशासन दुवै मधेसका बाहिरका मानिसहरूको कब्जामा छ । हामीले शासन र प्रशासनमा मधेसी नै हुनुपर्ने प्रदेश खोजेका थियौ । प्रदेशको पुलिस, न्यायलय, कर्मचारी सबै मधेसमै जन्मेको मधेसी हुनुपर्छ ।’
संघीयताको फर्मुला भनेको नै प्रदेशमा आफ्नो शासन र आफ्नो प्रशासन तथा केन्द्रमा हिस्सेदारी भयो भने मात्रै त्यो वास्तविकता संघीयता हुने उनले तर्क गरे ।त्यसकारण मधेस राज्यका फेरि एक पटक मधेसी जनताले संघर्ष गर्ने बेला आइसकेको भन्दै उनले भने,‘ मधेसीले आफ्नो शासन र प्रशासनका लागि अब फेरि एक पटक लड्ने बेला भइसकेको छ । त्यसका लागि सबै जना तयार रहनु होला । किनकि अधिकार कसैले किस्तिमा सजाएर दिदैन, अधिकार लडेरै लिनुपर्छ ।’
मुलुकको अहिलेको संकट र दुदर्शाको जिम्मेवार नै कांग्रेस र कम्युनिष्टहरू रहेको आरोपनि उनले लगाए ।‘काले काले मिली खाउँ भाले’ भने जस्तै विगतमा कांग्रेस र कम्युनिष्टले मिलेर सत्ता चलाउँदै देशलाई लुटेको उनको भनाई थियो ।यादवले भने,‘ उनिहरूले मधेसीलाई त मधेसीलाई कहिल्यैपनि आफ्नो देशको नागरिक नै ठानेनन् । संघीयतालाई संस्थागत गर्न यिनीहरूले कहिल्यै पनि चाहेनन् ।’
मधेस आन्दोलन भएकै कारण कांग्रेस र एमालेले संघीय गणतन्त्र स्वीकार्न बाध्य भएको उनले सुनाए । उनले भने,‘यदि मधेस आन्दोलन नभइदिएको भए कांग्रेस र कम्युनिष्टले संघीय गाणतन्त्र स्वीकार नै गर्दैनथे । अहिलेपनि कांग्रेसका केहि ठूला नेताहरूले हिन्दु राष्ट्र र संवैधानिक राजा ल्याउनु पर्छ भनेर अभियान नै चलाइरहेको उनले बताए । उनले भने,‘ नेपालमा असली कम्युनिष्ट कोहि पनि छैनन् । सबै नक्कली कम्युनिष्ट र कममाउनिष्ट मात्रै छन् ।’

रास्वपाप्रति लक्षित गर्दै जसपा नेपालका अध्यक्ष यादवले घण्टी छापवाला पार्टी र त्यसका नेताहरू पनि संघीयता विरोधी रहेको आरोप लगाए । उनले भने,‘ घण्टी छापका नेताहरूले मधेसको भोट लिनका लागि जनकपुरमा संघीयता बलियो बनाउनुपर्छ भनेर भाषण गरे। तर त्यहि नेताहरू चितवनमा पुगेर प्रदेश खारेज हुनुपर्छ भनेर भाषण गरे। त्यसकारण संघीयतावारे घण्टी पार्टी र त्यसका नेताहरूको द्वैध नीति र चरित्र छ ।’
कार्यक्रमलाई सम्बोधोन गर्दै आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले बालेन शाह नेतृत्वको सरकार लाचार बनेको टिप्पणी गरे ।
उनले अहिलेको सरकार विपक्षीहरूको कारण नभई रास्वपाभित्रैबाट असहयोगको कारण कमजोर र लाचार देखिएको दाबी गरे । सुनसरी देवानगंजको धार्मिक दंगाको घटनादेखि रसुवा भोटेकोशी बाढीको कारण निम्तिएको विपत्तिको संकटसम्म रास्वपा नेतृत्वले प्रधानमन्त्री बालेनलाई बाईपास गरेर सक्रियता देखाएको घट्नाको स्मरण गराउँदै उनले प्रधानमन्त्री बालेनलाई रास्वपाले नसघाएको आरोप लगाए ।विदेश सम्बन्ध र कुटनीतिक अभ्यासको सवालमा पनि रास्वपाका सभापति रवि लामिछाने एकातिर र प्रधानमन्त्री बालेन अर्काेतर्पm उभिएको साहको भनाई थियो । साहले रास्वपाका सभापति लामिछानेले समानान्तर सरकार चलाउन खोज्दा सरकारको कार्यसम्पादनमा असर परिरहेको कुरा सचेत नागरिकले गुनासो पोख्न थालेको पनि टिप्पणी गरे ।
कार्यक्रमलाई जनमत पार्टीका अध्ध्यक्ष डा. सिके राउत, प्रगतीशील लोकतान्त्रिक मोर्चाका नेता जनार्दन शर्मा लगायतकाले पनि सम्बोधन गरेका थिए ।






