वीरगञ्ज/धर्मनिरपेक्षता खारेज गरी नेपाललाई सनातन हिन्दू राष्ट्र कायम गर्नुपर्ने मागसहित सनातन हिन्दू मोर्चा पर्सा जिल्ला समितिले वीरगञ्जमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। संविधान जारी भएको असोज ३ गतेलाई हिन्दूवादी संघसंस्था तथा धार्मिक समूहले ‘कालो दिवस’का रूपमा मनाउँदै आएको सन्दर्भमा आयोजित कार्यक्रममा वक्ताहरूले धर्मनिरपेक्षता, वर्तमान संविधान र राजनीतिक व्यवस्थामाथि प्रश्न उठाउँदै सनातन हिन्दू राष्ट्र पुनःस्थापनाका लागि अभियान जारी राख्ने बताएका छन्।
सनातन हिन्दू मोर्चा पर्साका अध्यक्ष हनुमान दासको सभापतित्वमा श्री गहवामाई अतिथि सदनमा भएको कार्यक्रममा वक्ताहरूले नेपाललाई सनातन वैदिक हिन्दू राष्ट्रका रूपमा पुनःस्थापित गर्न हिन्दू समुदायबीच एकता र संगठित अभियान आवश्यक रहेकोमा जोड दिए।
कार्यक्रममा बोल्दै पूर्व शिक्षक, हिन्दूवादी अगुवा राजेन्द्र प्रसाद सिंहले आफू को हुँ र आफ्नो मौलिक पहिचान के हो भन्ने विषय नबुझी हिन्दूत्वको कुरा गरेर मात्र लक्ष्य हासिल गर्न नसकिने बताए। उनले अध्यात्म र विज्ञानलाई एकअर्काबाट अलग गरेर हेर्न नहुने धारणा राख्दै नेपाल भूमि अध्यात्म र शान्तिको सन्देश विश्वलाई दिने भूमि भएको बताए। बुद्धमार्फत नेपालले विश्वका अरबौ मानिसलाई शान्तिको सन्देश दिएको उल्लेख गर्दै उनले धार्मिक विषयलाई राजनीतिसँग जोडेर प्रयोग गरिँदा हिन्दू समाजमा विभाजन आएको बताए। धर्मनिरपेक्षताको स्पष्ट व्याख्या नगरी त्यसलाई कार्यान्वयनमा लगिनु गलत भएको उनको भनाइ थियो।
ज्योतिषाचार्य पण्डित ध्रुव नारायण पाण्डेयले संसारमा जन्मिने सबै मानिस सनातनी रहेको दाबी गर्दै नेपाल हिन्दू राष्ट्र रहेको र रहिरहने धारणा व्यक्त गरे।
हिन्दूवादी अगुवा एवं पूर्व शिक्षक बृजमोहन तिवारीले नेपाल पुनः हिन्दू राज्य बन्ने दाबी गर्दै विदेशी प्रभावमा आफ्नै देशको हिन्दू पहिचान हटाउने प्रयास गर्ने राजनीतिक शक्तिहरूको आलोचना गरे। नेपाललाई हिन्दू अधिराज्यका रूपमा पुनःस्थापित गर्ने विषयमा कागजी घोषणा मात्र बाँकी रहेको उनको भनाइ थियो।
अधिवक्ता विजय उपाध्यायले नेपालको राजनीति दलहरूको ‘दलदल’मा फसेको टिप्पणी गर्दै मुलुकमा लोकतन्त्र र प्रजातन्त्रभन्दा ‘नेतातन्त्र’ हाबी भएको आरोप लगाए। जनताको भावना विपरीत संविधान जारी गरिएको दाबी गर्दै उनले संविधान संशोधन वा सुधार नगरेसम्म विरोध र खबरदारी जारी रहने बताए।
प्रो. डा. हरेराम ठाकुरले विगतका राजनीतिक निर्णयका कारण पुरानो पुस्ताका नेताहरूले अहिले त्यसको परिणाम भोगिरहेको टिप्पणी गरे। उनले विदेशी प्रभाव र आर्थिक सहयोगका कारण नेपाललाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्ष बनाइएको आरोप लगाउँदै धार्मिक तथा सांस्कृतिक कार्यक्रममा ठूलो सहभागिता हुने भए पनि निर्वाचनका बेला धर्मनिरपेक्षताका पक्षधरलाई समर्थन गरिँदा हिन्दू समाज राजनीतिक रूपमा पछि परेको बताए।
प्राकृतिक विपद्का बेला राष्ट्रप्रमुखका रूपमा राजाले मात्र क्षमापूजा गर्ने अधिकार राख्ने धारणा राख्दै डा. ठाकुरले नेपाललाई देवभूमिका रूपमा व्याख्या गर्दै राष्ट्रपतिलाई त्यस्तो धार्मिक अधिकार नभएको दाबी गरे। उनले असोज ३ गतेलाई मधेश प्रदेशका विभिन्न राजनीतिक दलले कालो दिवसका रूपमा मनाएको र देशका अन्य भागमा संविधान दिवस मनाइएको प्रसंग उल्लेख गर्दै वर्तमान संविधानले मुलुकलाई स्थिरतातर्फ नभई अस्थिरतातर्फ धकेलेको आरोप लगाए। त्यसैले आफूहरूको दृष्टिमा वर्तमान संविधान अझै ‘कालो संविधान’ रहेको उनको भनाइ थियो।
ठाकुरले जेनजी आन्दोलनको जगमा स्थापित सरकारप्रति पनि प्रश्न उठाउँदै आन्दोलनका सहिद तथा घाइते परिवारलाई बेवास्ता गरिएको आरोप लगाए। उनले देशमा भइरहेका प्राकृतिक विपद्लाई समेत वर्तमान सरकारप्रतिको असन्तुष्टिसँग जोडेर टिप्पणी गरे।
रानीघाट मन्दिरका पुजारी सुबास बाबाले विभिन्न माध्यमबाट हिन्दूत्व र सनातनी संस्कृतिमाथि आक्रमण भइरहेको दाबी गरे। हिन्दूका रूपमा जन्मिए पनि हिन्दूत्व समाप्त पार्ने गतिविधिमा हिन्दूहरूकै संलग्नता देखिनु चिन्ताजनक रहेको उनको भनाइ थियो। आपसी एकताको अभाव र जनचेतनाको कमीले समस्या बढाएको उल्लेख गर्दै उनले सनातनी संस्कृतिलाई कमजोर पार्ने उद्देश्यले विभिन्न कार्यक्रममार्फत समाजमा ‘स्लो पोइजन’का रूपमा प्रभाव पार्ने गतिविधिप्रति सचेत हुनुपर्ने बताए।
हिन्दू परिषद् नेपालका केन्द्रीय सदस्य सचितानन्द दुबेले स्वस्तिवाचनसहित सम्पूर्ण सनातनी हिन्दूहरू एकजुट हुन सके हिन्दू राष्ट्र पुनःस्थापनाको अभियानले लक्ष्य हासिल गर्न सक्ने बताए।
सनातन हिन्दू मोर्चाका केन्द्रीय सदस्य भुपेन्द्र पौडेलले आफ्नो धर्म र संस्कृतिको रक्षा गर्न नसके नेपालका हिन्दूहरूले बंगलादेशका हिन्दूहरूले भोगेको जस्तो अवस्था भोग्नुपर्ने चेतावनी दिए। उनले सनातनी समुदाय आफ्नो धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि एकजुट हुनुपर्नेमा जोड दिए।
सनातन हिन्दू मोर्चाका केन्द्रीय अध्यक्ष सन्तोष पटेलको विशेष उपस्थितिमा भएको कार्यक्रममा केन्द्रीय सदस्य योगेन्द्र प्रसाद कलवार, गीता मन्दिर सञ्चालक समिति अध्यक्ष मदन गुप्ता, श्री गहवामाई मन्दिर सञ्चालक समितिका महासचिव विजय उपाध्याय, घडिअर्वा छठ पूजा समितिका अध्यक्ष राकेश साह कानुलगायत हिन्दूवादी अगुवा तथा अभियन्ताहरूको सहभागिता थियो।







